न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्छु – कैलाश गुरुङ

दूरबिन नेपाल     २५ फाल्गुन २०७५, शनिबार ०५:०८    

Anil Baral Real Estate

लवदेभ ढुङ्गाना  ।

पाँचथर ।  नेपाल बार एसोसिएसनको २५ औँ महाधिवेशनमा आदिवासीरजनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन, कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझमात्र हैनन् आदिवासी समुदायमा समेत लोकप्रिय मानिन्छन् ।
बारको आसन्न महाधिवेशनमा लोकतान्त्रिक समूहका उम्मेदवार गुरुङले काठमाडौँमा रहेर वकालत गरेको १५ वर्ष भयो । काठमाडौँ स्कुल अफ ल बाट एल.एल.एम. पूरा गरेका गुरुङले कानुनी क्षेत्रमा स्पष्ट र प्राज्ञिक हैसियत बनाएका छन् । सुरुमा हिमाल, पहाड र तराइका आदिवासी जनजाति सम्मिलित कानुन व्यवसायीहरू मिली समावेशी ल फर्म सञ्चालन गरेका उनले पहाडमा रहेका आमाबुबाको नाममा अनामनगरमा पाँच वर्ष यता चन्द्र ल केन्द्र चलाइरहेका छन् ।
गरिबी र अशिक्षाका कारण आदिवासी जनजातिहरूको न्यायमा कम पहुँच छु गुरुङ भन्छन्, “त्यसैले देशभरका आदिवासीको सहयोगको लागि आफूलाई यो व्यवसायमा केन्द्रित गरेको छु ।” आफूकहाँ आउने नागरिकलाई उनी तत्काल रेस्पोन्स गर्छन् र सक्दो सहयोग गर्ने गरेको उनका सहकर्मी बताउँछन् ।
आदिवासी जनजाति समुदायले काठ्माण्डौमा गर्ने प्रयास कार्यक्रममा उनी सामेल हुन्छन् । सानैदेखि अर्कालाई सहयोग गर्ने र तार्किक क्षमता राख्ने तीक्ष्ण बुद्धिका गुरुङ त्यही कारण अहिले व्यवसाय र समुदायमा लोकप्रिय बन्न सफल बनेको उनका सहपाठी केशव रिजालले बताए ।
चार भाइ र तीन बहिनीका जेठा दाजु कैलाश श्रीमती, एक छोरा र एक छोरीकासाथ सूर्यविनायक ५, भक्तपुरको आफ्नै निवासमा बसोबास गर्छन् । नेपाल प्रहरीमा छोटो अवधि जुनियर प्रहरी अधिकृतकोरुपमा काम गरेर राजीनामा गरी वैदेशिक रोजगारीसमेत गरेका उनी पछिल्लो व्यावसायिक काममा अब्बल दरिएका छन् । गुरुङले बारमा विजयपछि वकालत पेसामा रहेका विकृति हटाउन सक्दो प्रयास गर्ने प्रण गरेका छन् ।


२५ फाल्गुन २०७५, शनिबार ०५:०८ मा प्रकाशित