सिके राउत सँगकाे सम्झाैता बारे सरकारले जवाफ दिनु पर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकार र डाक्टर सिके राउत बीच भएकाे सम्झाैताका विषयमा आपत्ति जनाएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतवारकाे बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले सम्झाैता बारेमा सरकारले जवाफ दिनु पर्ने बताए । उनले भने “सहमति पत्र सार्वजनिक गर्ने क्रममा प्रभानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैँ सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्छ ।”
शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट संयोजक चन्द्रकान्त राउत (सिके) समूहसँग ११ बुँदे सहमति भएको थियो । राष्ट्रियसभाका सांसद रामनारायण विडारीले सहमति सकारात्मक भएको भन्दै त्यसमा प्रयोग गरिएको सहमतिसमेत संवैधानिक भएको बताए ।
“भ्रम छर्ने तरिकाले अर्थ लगाउन खोजिएको छ, ती आशंका र आरोप मात्र हुन, किन भने स्वाशासन भनेको संविधानबाट प्राप्त अधिकार हो, त्यो संविधानको प्रस्तावना मै छ”, उनले थपे , “सांसद विडारीका अनुसार सहमतिमा उल्लेख गरिएको जनमत सङ्ग्रह भन्ने शब्दलाई पनि अपव्याख्या गर्न खोजिएको छ ।”
अर्काे प्रसङ्गमा काँग्रेस नेता थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताए । “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।”
२६ फाल्गुन २०७५, आईतवार १६:२४ मा प्रकाशित