उत्तर कोरियासँगको वार्ताले निरन्तरता पाउनेमा अमेरिका आशावादी

दूरबिन नेपाल     २ चैत्र २०७५, शनिबार १४:४२    

Anil Baral Real Estate

वासिङ्टन ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङयाङसँगको वार्ताले निरन्तरता पाउनेमा वासिङ्टन अझै आशावादी रहेको शनिबार बताउनुभएको छ ।  “उत्तर कोरियासँगको वार्ता तथा सम्वादले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छौँ,” पोम्पेओले अमेरिकी विदेश विभागमा गरेको पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “म र मेरा उत्तर कोरियाली समकक्षी रि योङ होबीच ‘निकै व्यवसायिकरूपमा सम्वाद’ भएको छ र उक्त सम्वादले आगामी दिनमा कूटनीतिक छलफललाई थप अडाडि बढाउन सकिने अपेक्षा वासिङ्टनको छ ।” तर पोम्पेओले समकक्षीसँग भएका कुराकानीबारे बिस्तृत विवरण भने बताउन चाहनुभएन ।

उत्तर कोरियाले हालै भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भएको शिखर सम्मेलन असफल हुनुमा अमेरिकी पक्ष दोषी भएको आरोप लगाएको केही घण्टामै पोम्पेओको उक्त भनाई आएको हो ।

हनोइ सम्मेलनमा कुने सहमति हुन नसकेपछि गत फेब्रअरी २८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वार्तामा ‘एक किसिमको रिक्तता’ देखिएको बताउनुभएको थियो । ट्रम्पका अनुसार नेता किमले प्योङयाङमाथि लगाइएका सबै प्रतिबन्ध हटाएमा मात्रै उत्तर कोरियालाई ‘ठूलो मात्रमा’ आणविक निशस्त्रीकरण गर्न सकिने बताउनुभएको थियो ।

तर उत्तर कोरियाली विदेशमन्त्री रिले भने नेता किमले प्रतिबन्धलाई आंशिकरूपमा हटाउन प्योङयाङको तर्फबाट प्रस्ताव लगेको बताउनुभएको थियो । उहाँका अनुसार उत्तर कोरियाली जनताको सहज दैनिकीमा समस्या पारेका प्रतिवन्ध हटाउने प्योङयाङको प्रस्ताव रहेको थियो ।

तर शनिबार उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएको केही घण्टामा अमेरिकी विदेशमन्त्रीले आफ्नो भनाई राख्नुभएको हो ।

नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिनु हुने बताइएको छ । उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताउनुभएको थियो ।

उत्तर कोरियाकी उपविदेश मन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कुटनीतिज्ञ एवं संवाददातालाई सम्बोधन गर्दै हनोई शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताउनुभयो ।

उहाँले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः शुरु गर्ने सम्भावना नरहेको अमेरिकी पक्षको वार्ता प्रक्रियाबाट बाहिरिने निर्णयले उत्तर कोरियाली नेता अचम्भित भएको पनि बताउनुभयो । उहाँले अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भङ्ग भएको बताउनुभयो ।
(रासस÷सिन्ह्वा)


२ चैत्र २०७५, शनिबार १४:४२ मा प्रकाशित