ह्युस्टनका नेपालीहरुको उल्लासपूर्ण फागु पर्व

दूरबिन नेपाल     ४ चैत्र २०७५, सोमबार ०३:१०    

Anil Baral Real Estate

ह्युस्टन टेक्सस, मार्च १७/ टेक्ससको ह्युस्टनमा आज नेपालीहरुले उल्लासमय ढंगले सामूहिक फागु पर्व (होली) मनाएका छन्। हिमालयन कल्चरल सेन्टरको आयोजना र नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), एशोसियसन अफ नेपाली तराएन इन अमेरिका (एन्टा), गुल्मी समाज ह्युस्टन, नेप्लिज हेरिटेज युनिएन, क्रिएटिभ नेप्लिज सोसाइटी सहितका संस्थाहरुको सक्रियतामा ह्युस्टनस्थित पशुपति मन्दिरमा सम्पन्न नेपालीहरुको महत्वपूर्ण पर्व ‘फागु’ अर्थात होलीको रंगमा रंगिएका नेपालीहरुको उमंग देख्दा प्रवासमा समेत नेपाली चाड-पर्वहरुको रौनकता बढिरहेको प्रष्टै देखिन्थ्यो। गतसाल नेपालीहरुले पशुपतिनाथ मन्दिरको स्वामित्व लिएपछि नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले ह्युस्टनका अन्य नेपाली संस्थाहरु समेतको सहकार्यमा सामुहिक होली कार्यक्रम आयोजना गर्न गतसालबाटै शुरु गरेको हो। 

करिब दुई सय जति नेपालीहरुको सहभागिता रहेको फागु कार्यक्रममा गुल्मी समाज ह्युस्टनको संयोजनमा नेपाली पंचेबाजाको प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। पंजेबाजाको तालमा होलीको रंगसंगै सहभागीहरु छमछमी नाचेका थिए। प्रवासमा नेपाली पर्वहरु मनाउन सप्ताहन्त नै पर्खनु पर्ने बाध्यताका कारण नेपालमा भन्दा तीन दिन पहिले नै आज आइतबार होली कार्यक्रम राखिएको हो। बिहान ११ बजेबाट जम्मा हुन थालेका नेपालीहरुलाई बिहानको प्रतिकूल मौसमले केही असर गरेपनि बिस्तारै नेपालीहरुको सहभागिता बढ्दै गएको थियो। नेपाल मै मनाए झैं खुल्ला स्थान र आफ्नै पशुपतिनाथ मन्दिर परिसरमा उल्लासपूर्णढंगले होली मनाउन पाएकोमा सहभागी नेपालीहरु अति खुसी देखिन्थे। साना केटाकेटी देखि युवा र बयस्कहरु सबैले उत्तिकै खुसियालीकासाथ आपसमा रंग लगाएर होलीको शुभकामना साटासाट गरेका थिए। 

कार्यक्रममा साना केटाकेटीहरुका लागि बाउन्सी हाउस सहितको खेल्ने व्यवस्था गरिएको थियो भने बालबालिकाहरुका लागि खुल्ला आर्ट प्रतियोगिता समेत गरिएको थियो। 

सहभागीहरुका लागि ‘ह्याप्पी होली २०१९’ लेखिएको एन्टाद्वारा सौजन्य टिसर्ट बिक्री गरिएको थियो। टिसर्ट बिक्रीबाट आएको रकम नेपाली मन्दिरलाई सहयोग गरिने जनाइएको छ। यसैगरी गुल्मी समाजले चिसो पेय पदार्थ र स्न्याक्स बिक्री गरेर आएको रकम मन्दिरलाई सहयोग गर्ने व्यवस्था मिलाएको थियो भने स्थानीय आशियाना रेष्टुरेण्टले खानेकुराको प्रवन्ध मिलाएको थियो। आशियानाले पनि बिक्रीको सबै मुनाफा पशुपति मन्दिरलाई दिने निर्णय गरेको छ। 

स्थानीय कार बिक्रेता स्टर्लिंग म्याककल टोयोटाले फागु कार्क्रमलाई मुख्य प्रायोजन गरेको फागु पर्व आयोजकहरुले बताएका छन्। 

तस्विर: सुजन पण्डित/दूरबिन नेपाल, लक्ष्मण भण्डारी


४ चैत्र २०७५, सोमबार ०३:१० मा प्रकाशित