झुटो समाचार लेखेर अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार १९:३९    

Anil Baral Real Estate

काठमाडौँ, ७ चैत : महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ”, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो । अभियुक्त खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

रासस 


७ चैत्र २०७५, बिहीबार १९:३९ मा प्रकाशित