मानिस मृत्यु पश्चात कहाँ पुग्छ ? इतिहास मर्दैन  र पालो सबैको आउँछ । 

प्रा. डा. दुर्गा दाहाल     ८ चैत्र २०७५, शुक्रबार २१:५६    

Anil Baral Real Estate

 प्रा. डा. दुर्गा दाहाल

 

धेरै मानिसहरूले जन्म लिए यो धर्तीमा । कोही आशीर्वाद भएर आए; कोही अभिशाप भएर आए अनि कसैले माया, शान्ति, खुशीयाली र गौरवगाथा दिएर गए भने अन्य केहीले हिंसा, अशान्ति, पीड़ा र कुख्यातिको बोट रोपेर गए । यो क्रम निरन्तर जारी छ र इतिहासले यस्को लेखाजोखा राखेको छ । शारीरिक मृत्यु पछि पनि अमर हुनु र जीवित रहँदै मरेतुल्य हुनु सम्बन्धित व्यक्तिको योगदान, बलिदान, कर्मदान , नेतृत्व  र दृष्टिकोणमा भर पर्छ ।

प्रसंग : कालजयी शिखर व्यक्तित्वको हो ।
१. बिराटनगर विमान अपहरणका मुख्य योजनाकार
२. देशमा विदेशी लगानी, प्रविधि र पर्यटन प्रबर्धनका सूत्रधार
३. उदार आर्थिक नीतिका पक्षधर
४. २०३१ सालको सशस्त्र संघर्षका निडर सिपाही
५. कुशल संगठक, गतिशील राजनीतिज्ञ र पूर्णत सफल महामंत्री
६. २०४६ साल पछिका सशक्त र जुँझारू नेता
७. अन्तराष्ट्रीय जगतमा समेत ख्यातिप्राप्त र विरलै विदेश जाने नेता, सदैव राष्ट्रकै चिन्तनमा व्यस्त र   देशमै संगठनमुखी भई रहने नेता
८. उच्च राजनैतिक व्यक्तित्व र शालीन व्यवहारका धनी
९. चार पटकसम्म राष्ट्रको प्रमुख/ शीर्षस्थ नेता आदि-इत्यादि ।
हरेक व्यक्तिमा केही न केही गुणहरू विद्यमान हुन्छन । उहाँमा पनि थिए तर समग्रमा हेर्दा उहाँका गुणहरू धेरै थिए । सामान्य  कमी-

कमजोरी बाहेक नियत उहाँको साफ थियो । नेपालको राजनीतिमा सदैव चर्चामा रहने र नेपालको राजनीतिलाई आजको अवस्थामा पुर्याउने महान हस्ती हुनुहुन्थ्यो उहाँ । नेपालको हरेक प्रजातांत्रिक आन्दोलनमा पहाड़झैँ अडिग र अटलभै नेपालको राष्ट्रीयता, प्रजातंत्र र समाजवादलाई अक्षुण्ण राख्दै जंगलका हिंस्रक मानवरूपी दानव हरूलाई नेपाली राजनीतिको मूलघारमा ल्याउन सक्ने अदम्य क्षमता राख्ने महान राजनैतिक व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।
यद्यपि उहाँका कटु आलोचकहरू पनि पाईन्छन । कतिपय सवाल र कार्यहरूमा उहाँ चुक्नु भएको पनि थियो तर तत्कालीन विषम र कठिन परिस्थितिमा उहाँसंग कतिपय बाध्यात्मक परिस्थिति  र बाध्यता हरूपनि नभएका हैनन । अत: वस्तुगत र समसामयिक राजनैतिक परिस्थितिलाई मध्यनज़र राख्दै कतिपय अप्रिय तर जायज़ कदमहरु पनि चाल्नु भएको थियो ।
उहाँ सर्वगुणसम्पन्न हुनुहुन्न थियो । चन्द्रमा पनि कलंक भएझैँ उहाँमा पनि कतिपय मानवीय कमी- कमजोरीहरु पक्कैनै थिए  तर समग्र र समष्टिगत रूपमा हेर्दा उहाँमा कतिपय विलक्षण प्रतिभाहरू पनि थिए जुन नेताहरूमा विरलै पाईन्छ । अत: नेपालको राजनैतिक पृष्ठपटमा उहाँ सदैव आदरणीय, अनुकरणीय र अविस्मरणीय हुनुहुन्छ ।
बाहिर बसेर कुरा काट्न अत्यन्त सजिलो हुन्छ तर त्यहाँभित्र बसेर नेतृत्व दिनु कष्टकर, चुनौतीपूर्ण र दुरूह हुन्छ । आफ्नो लामो राजनैतिक यात्राका क्रममा निरन्तर संघर्षशील र अभिभावकीय भूमिकामा रहने चट्टानका पर्यायवाची राजनैतिक व्यक्तित्व र सारथी हुनुहुन्थ्यो उहाँ । उहाँले जहिले पनि  आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा राष्ट्रीय अस्मिता र स्वार्थलाई प्राधान्यता दिई  रहनु भएको थियो ।
उहालाई नेपालको राजनैतिक इतिहासबाट एकैछिन निकालेर हेर्ने हो भने नेपालको इतिहास मरुभूमि सदृश हुनेछ ।
नेपाली कांग्रेसको राजनैतिक इतिहासमा एउटा अविस्मरणीय नाम हो : दिवंगत प्रियनाम गिरिजाबाबु अर्थात गिरिजा प्रसाद कोइराला ।
तर विडम्बना ! नेपाली काँग्रेसका वर्तमान प्रमुख शेर ब. देउबाले उहाँको नवाौँ मृत्युतिथिको अवसरमा उहाँलाई संझिन बिर्सनु भो र उहाँको पुण्यतिथिमा पार्टीको तर्फबाट कुनै औपचारिक कार्यक्रम राख्न असमर्थ हुनुभो ।
संभवत, यो शेर ब. जी को अकर्मण्यता, नेतृत्वहीनता र वार्धक्यताको  परिणाम होला  अथवा  गिरिजाबाबु प्रतिको असहिष्णुता । कारण जे भएता पनि यो पीड़ादायक, लज्जास्पद, कुरीकुरी र कृतघ्नताको विषय हो ।
इतिहास मर्दैन  र पालो सबैको आउँछ ।
मानिस मृत्युपश्चात न्यायको तराजुमा पुग्छ ।
( प्रा. डा. दुर्गा दाहाल नेपाली कांग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक, नेजस अमेरिकाका पूर्व उपाध्यक्ष, गिरिजाबाबुका कनिष्ठ सहयात्री  र वर्तमान गिरिजा प्रसाद कोइराला फ़ाउन्डेशन, अमेरिकाका  सल्लाहकार समेत हुनुहुन्छ )

८ चैत्र २०७५, शुक्रबार २१:५६ मा प्रकाशित