प्रतिवन्धित नेकपा विप्लव समुहका  थप ११ जना पक्राउ

दूरबिन नेपाल     १३ चैत्र २०७५, बुधबार १३:४६    

Anil Baral Real Estate

राँझा, १३ चैत  : जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ । सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

 

चितवनमा विप्लव समूहका सात नेता पक्राउ

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् ।

आज बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताउनुभयो । भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा विप्लव समूहका नेताको खोजीकार्य भइरहेको बताउनुभयो । स्थानीय प्रशासनले जिल्लामा घर भई बाहिर कार्यक्षेत्र रहेका केन्द्रीय नेतामाथि पनि निगरानी बढाएको उहाँले बताउनुभयो ।

  डोटीमा चार कार्यकर्ता पक्राउ

 जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “नौ जनाको समूहमा रहेका ‘विप्लव’ समूहले प्रहरी टोलीमाथि पहिला गोली चलाएकाले हामीले जवाफी फायर खोलेपछि पाँच जना भागेका र चारलाई पक्राउ गरी ल्याएका छौँ ।”

उता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका डोटी इन्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्नो समूहका केही व्यक्तिलाई पक्राउ गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले फायर गरेकै छैन, विनाकारण आरोप लगाएर प्रहरीले हाम्रा केही साथी पक्राउ गरेको हो ।”

उता जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त भएको र आफ्नो तर्फबाट सात राउण्ड फायर भएको बताएको छ । त्यस्तै प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ । प्रहरीसँगको मुठभेडपछि भागेका पाँच कार्यकर्ता तथा उनीहरुसँग भएको हतियार खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । अछाममा अहिले प्रहरी सुरक्षा कडा पारिएको बताइएको छ । दोहोरो भीडन्तमा प्रहरीतर्फ कुनै क्षति नभएको अछाम प्रहरीले जनाएको छ ।

रासस


१३ चैत्र २०७५, बुधबार १३:४६ मा प्रकाशित