एसइई परीक्षा स्थगनपछि विद्यार्थी आन्दोलित, केही स्थानमा ताेड्फाेड

दूरबिन नेपाल     १५ चैत्र २०७५, शुक्रबार १३:४३    

Anil Baral Real Estate

सप्तरी, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले राजविराजमा विरोध प्रदर्शन गरेका थिए ।

परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबारको विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । सामाजिक विषयको प्रश्नपत्र पनि बिहीबार रातिनै सामाजिक सञ्जालमा आएपछि आजको परीक्षा पनि स्थगन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिका प्रमुख शङ्करराज लुइँटेलले जानकारी दिनुभयो । परीक्षा स्थगित भएपछि विद्यार्थीले नाराबाजी गर्दै जुलुशसहित राजविराज नगर परिक्रमा गरेका थिए । प्रहरी नायब उपरीक्षक भावेश रिमालले सुरक्षित साथ राखिएको प्रश्नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको बताउनुभयो ।

 

विरोध गर्दै विद्यार्थी : वीरगञ्जको घण्टाघर चोकमा शुक्रबार तोडफोड गर्दै विद्यार्थी । एसइईअन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा प्रदेश नं २ को सरकारले रद्द गरेपछि सोको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

 

“शिलबन्दी गरिएको प्रश्नपत्र परीक्षा शुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रमा पु¥याइने गरिन्छ”, उहाँले भन्नुभयो । शिक्षा एकाइ समन्वय समितिका प्रमुख लुइँटेलले पनि प्रश्नपत्र अन्यत्रबाटै बाहिरिएको बताउनुभयो । एक दिनअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार प्रदेश नं २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनमा शुक्रबारको परीक्षा पनि स्थगित गरिएको छ । आगामी दिनको परीक्षा स्थगित हुने वा सञ्चालन हुने भन्नेबारे विद्यार्थी दोधारमा छन् ।

 

मोबाइल र सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न विद्यालयका शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

विद्यार्थीले तोडफोड गरेको अनुभुति कलेज : एसइई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा प्रदेश नं. २ को सरकारले स्थगित गरेपछि विद्यार्थीले तोडफोड गरेका वीरगञ्जको मुर्ली बगैँचास्थित अनुभुति कलेज । तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

रासस


१५ चैत्र २०७५, शुक्रबार १३:४३ मा प्रकाशित