बडा दशैको झल्को दिने अमेरिकाको वनभोज

दूरबिन नेपाल     १५ चैत्र २०७५, शुक्रबार १४:०६    

Anil Baral Real Estate

अमेरिका ।

वडा दशैको तयारीमा जस्तै व्यस्त हुन्छन् सन्निभेल वरपरका नेपालीहरू नयाँ वर्षको आगमनको स्वागतमा गरिने वनभोजको तयारीका लागि । बारवेक्यू, पक्कु र झोल मासुका लागि खसीको ढाड र गर्धन छाम्न वरपरका जङ्गलमा रहेका खसी बाख्राको गोठ चाहर्छन नेपालीहरू । नेपाली स्वादको अचारका लागि आलु, काँक्रो र केराउको किनमेलको चटारो शूरु हुन्छ एक साता अगाडि देखि । रापिला कोइलामा पोलेर टोक्न एक दिन अगाडि नै म्याग्नेट गरिन्छ ५० औँ किलो कुखुरा । त्यस माथि मध्येपानका शौखिनहरुलाई नेपाली घरेलु उत्पादनको स्वाद समेत लिन पाउने व्यवस्था मिलाउँदै आएका छन् आयोजकहरूले ।

नयाँ वर्षको उमङ्गमा नेपाली पनको रौनक भर्न आयोजकहरूले कुनै कसर बाकी राख्दैनन् । वनभोजमा बारवेक्यू , नेपाली स्वादका परिकारका साथै नेपाली गीत सङ्गीतको धुनमा रमाउनुको पाइने छ । नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरू पनि हुने छन् । राफल र कार्यक्रम स्थल नजिक राखिने खेल स्टलका कारण अभिभावकसँग आउने केटाकेटीले पनि भरपुर मनोरञ्जन गर्न पाउने छन् । सन्नि सगरमाथा समाजले वनभोजसँगै यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको मन जितेको छ ।

यस वर्ष पनि यी कुनै कुराको कमी नहुने आयोजकहरूले दाबी गरेका छन् । सानफ्रानसिस्को बे एरियामा बसोबास गर्ने नेपालीहरूको ठुलो जमघट हुने यो वनभोजका लागि आयोजक समितिले सहयोग सङ्कलन र आवश्यक तयारीका कामहरू शूरु गरिसकेको छ । यो वनभोजमा करिब २ हजार जनाको सहभागिता हुने गर्छ । समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार धेरै सहभागीका लागि ठुलो तयारी गर्नु पर्ने हुँदा सहयोगी दाताहरूको खोजी जारी छ । अहिलेसम्म दाताहरूबाट करिब १० हजार डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ । यो वनभोजको खर्चका लागि पर्याप्त हुन सक्दैन ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेकाहरू समेत यस पटक उपस्थित हुने भएकाले सहयोग जुट्नेमा आयोजकहरू विश्वस्त छन् । संस्थाका पूर्व कार्य समिति सदस्य नारायण खनाल भन्छन् “केही उम्मेदवारहरूले सहयोगको प्रतिबद्धता जाहेर गरिसकेका छन् भने केहीसँग सम्पर्क गर्ने कोसिस भइरहेको छ ।”

नेपाली नयाँ वर्षको उपलक्षमा सन्नि सगरमाथा समाजले गर्ने वनभोज सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरूको विशेष महत्त्वको उत्सव जस्तो बन्न पुगेको छ । वनभोज कार्यक्रम अप्रिल १३ तारिख शनिवार सन्निभेल स्थित सेरा पार्कमा राखिएको छ ।


१५ चैत्र २०७५, शुक्रबार १४:०६ मा प्रकाशित