पत्रकारहरू पूजिता हुन्छन एउटा कटिवद्ध पत्रकारले पीड़ामा पनि सन्तुष्टि निसृत गरि रहेको हुन्छ

प्रा.डा. दुर्गा दाहाल     १५ चैत्र २०७५, शुक्रबार २१:१५    

Anil Baral Real Estate

प्रा.डा. दुर्गा दाहाल     ।

 

पत्रकारहरू पूजिता हुन्छन अपवादमा रहेका अपवित्र पीत पत्रकारहरू बाहेक सबै पत्रकारहरू प्रिय, पवित्र, पारदर्शी र परिवर्तनकामी हुन्छन ।परिस्थितिको अध्ययन पश्चात सही सूचना संकलन गरि निडरतापूर्वक सत्य र तथ्यहरूलाई उजागर गरि दिनु पत्रकारको धर्म हो ।

 

यो पेशा चुनौतीपूर्ण र जोखिमपूर्ण भएता पनि आनन्ददायी पनि छ किनभने एउटा कटिवद्ध पत्रकारले पीड़ामा पनि सन्तुष्टि निसृत गरि रहेको हुन्छ जसरी एउटी गर्भवती महिलाले आगन्तुक सन्तान प्राप्तिको खुशीमा आफ्नो प्रसवपीडालाई पनि खपि रहेकी हुन्छिन ।

 

पत्रकारिता हरेक राष्ट्रको चौथो अंग हो । संचार बिना संसार छैन आजको युगमा । संचारले सारा संसारमा हलचल मच्चाई रहेको बेलामा यस बिना गतिशील र अध्यावधिक हुनु असंभव छ । पानी बिनाको माछो र संचार बिनाको व्यक्तिको अवस्था एउटै हुन्छ ।

 

कतिपयको घटिया सोच छ र भन्ने गर्छन: “केही काम नपाए पछि मास्टर (शिक्षक) र पत्रकार हुन्छन ! “ मास्टर र पत्रकारलाई छोरी दिनुहुन्न; पाल्न सक्तैनन आदि- इत्यादि । हरे ! दरिद्र त तिनीहरू हुन चिन्तनका जस्ले यी पेशाहरूको पवित्रता, निष्ठा, त्याग र तपश्यालाई बुझ्न सक्तैनन । केवल एकवर्ष मात्रै यो पेशामा टिक्न सक्यौ भने तिमीहरूलाई धन्य भनौँला, हे चिन्तनका दरिद्रहरू !

 

पत्रकारहरूको ठूलो ज़िम्मेवारी छ हाम्रो समाजमा । पत्रकारहरूले निष्पक्षतापूर्वक र निडरतापूर्वक समाज र समुदायमा भएका विविध घटनाहरूलाई संचार माध्यम मार्फ़त उजागर गरि सबैलाई सुसूचित हुने अधिकार प्रदान गरि दिनु पर्छ । पत्रकारिताका मूल्य- मान्यता, विधि र विधान अनुरूप चल्नु, लेख्नु र बोल्नु हरेक पत्रकारको धर्म हो ।

 

असल पत्रकार हुनु त्यति सजिलो छैन ।यस्मा प्रशस्त चुनौतीहरू छन । यसमा खोज-अनुसंधान तथा अध्ययन, अनुशीलन र अनुशासनका विषयहरू हुन्छन । निष्पक्ष भएर सत्य र तथ्यको आधारमा समाचारहरू बनाउनु पर्ने हुन्छ । यस्मा धेरै तलब, लाभ तथा सुविधाहरु हुन्नन बरू हर कदमहरूमा डर, तनाव, धम्की र प्रलोभनहरू आउने गर्छन । तर पनि पत्रकारहरू यस्मा लागि रहन्छन किनभने यो पत्रकारिताको संसारमा केही नशा, अद्भुत आनन्द, जोखिम र मज्जा छ ।

 

पत्रकारहरू अदम्य साहस, चरम चुनौती र निश्चित सुधारका सिद्धान्तहरू बोकेर हिंडछन । यिनीहरू कसैदेखि डराउँदैनन । डर देखाउन खोज्यो भने झन साहसी भएर देखा पर्छन । यिनीहरू अध्ययनशील, अनुसन्धित्सु , उदार र अन्वेषक हुन्छन । पत्रकारिता जगतमा प्रवेश गरेपछि हत्तपत्त छाडदैनन र पत्रकारिताको नशामा लठ्ठ हुन्छन ।

 

संसारमा धेरै पत्रकार हरूले आफ्नो र परिवारका अन्य सदस्यहरूको ज्यान गुमाउनु परेको छ । नेपालमा पनि हामीले चिने जानेका साथीहरूले ज्यान गुमाउनु परेको स्थिति विद्यमान छ । समाजका दुशमन अमानुष कायरहरूले यसरीनै पैसाको लोभमा लुकेर पत्रकारहरूको हत्या गर्छन जुन निन्दनीय र भर्त्सनामूलक छ ।

 

यसरी शहादत प्राप्त गरेरै भए पनि पत्रकारहरूले आफ्नो समाज, समुदाय, सिंगो राष्ट्र र अन्तराष्ट्रीय जगतलाई समेत भरपर्दो सूचना प्रवाह गरेर आफ्नो ज़िम्मेवारी पूरा गर्छन । उक्त सेवाबाट हाम्रो समाज क्रमश: अघि बढ्दै जान्छ र यो क्रम निरन्तर जारी रहन्छ ।

 

पत्रकारहरूको खेदो कसैले गर्नु हुन्न । उनीहरू हाम्रा सारथी हुन । बरू, सकेसम्म अत्यधिक सूचना दिएर सहयोग गर्नु पर्छ । उनीहरूले हाम्रै लागि काम गरि रहेका हुन्छन । अत: उनीहरूको मनोबल बढ़ाई अझ सशक्त भएर जन आवाज बोलि दिनु हुन र लेखि दिनु हुन उत्प्रेरित गर्नु पर्छ । यसो गर्नु पनि हाम्रो मानवधर्मनै हो । असल र अर्गानिक पत्रकारहरू पूजिता हुन्छन । उनीहरूलाई आदर- सम्मान र मित्रताको दृष्टिकोणले हेरौँ । समाजसुधारमा उनीहरूको अनुकरणीय, उदाहरणीय र उल्लेखनीय भूमिका रहँदै आएको छ ।

 

( प्रा.डा दुर्गा दाहाल स्वयं पनि रेडियो, नेपाल टेलिविज़न, भ्वाइस अव अमेरिका र विभिन्न पत्र- पत्रिकाहरूसंग संवद्ध पत्रकार हुनुहुन्थ्यो )


१५ चैत्र २०७५, शुक्रबार २१:१५ मा प्रकाशित