अमेरिकामा कम्युनिस्ट छापामार प्रचार शैली

ओम भट्टराई     १६ चैत्र २०७५, शनिबार ०५:५४    

Anil Baral Real Estate

ओम भट्टराई     ।

अमेरिकालाई पुजिवादी, साम्राज्यवादी, रक्त पिपासु लगायत अनगिन्ती आरोप र गालिगलौज गर्दै नेपाल भित्र हत्या हिंसाको व्यापार चलाएका कम्युनिस्टहरू आफ्नो स्वार्थ सिद्ध गर्न कसरी लम्पसार हुन्छन् भन्ने थुप्रै उदाहरण अमेरिका भित्र भेट्न सकिन्छ । अमेरिकामा कम्यूष्टि पीडित भएर राजनैतिक शरणार्थी आवेदन दिने नेपालीहरूमा सबै भन्दा बढी नेपालको कम्युनिस्ट आन्दोलनमा कहिन कहीँ जोडिएकाहरू नै भेटिन्छन् । यसरी आवेदन दिनेमा दोस्रो नम्बरमा काङ्ग्रेससँग नेपालमा सम्बन्ध गासिएकाहरु छन् । तेस्रो गन्तीमा आउँछन् अन्य राजनीतिक पार्टीसँग आबद्ध भएकाहरू ।
विकास र आधुनिकताको वैभवमा आफू र आफ्ना सन्ततिको भविष्य खोज्न नेपाल कम्युनिस्ट पार्टीका सङ्गठित सदस्यहरू अमेरिका आउँदा नेपाली काँग्रेसको समर्थक भएका कारण कम्निस्टबाट पीडित भएको प्रमाण पेस गर्छन् ।

यो तथ्य जग जाहेर छ । तर नेपालबाट कुनै कम्युनिस्ट नेताहरू अमेरिका छिर्नसाथ उनीहरू लुकेको असली मुहार उदाङ्गो बनाउन तम्सन्छन् । कम्युनिस्ट प्रतिबन्धित मुलुक अमेरिकामा काँग्रेसी भेषमा अडिएर कम्निस्ट गतिविधि , समर्थन र लोकतन्त्र विरुद्ध उत्तेजित अभिव्यक्ति नराखेको,नलेखेको राम्रो । उपयोगवादी नीति लिएकाहरूले आफ्नो विगत र नेपालको धाक देखाउँदा उत्पन्नहुनसक्ने विषम परिस्थितिको हेक्का राख्नु पर्छ । हामी धेरैजसो राजनीतिक विचारका हिसाबले विभाजित नभई हामी सबै नेपाली भन्ने आधारमा एक अर्काका सहयोगी बनिरहेका छौ । मिलेर बसिरहेका छौ ।
अधिकांश पूर्व कम्निस्ट मित्रहरू त कम्निस्ट बिचार त्यागी अमेरिकाले विश्व समुदायमा फैलाइरहेको लोकतान्त्रिक विचारधाराका अनुयायी भइसक्नु भएको छ । परिवर्तनलाई स्वीकार गर्नु र आफूलाई सही मार्गमा बदल्नु जीवनको सुन्दर पक्ष हो ।

नेपालमा कम्युनिस्ट लाल आतङ्कको पक्षपोषण गर्दै हत्या हिंसाको पक्षमा डोको रेडियो र कम्युनिस्ट मिसन पत्रकारिता गरेका केही पत्रकारहरूले भने अमेरिका बसेर कम्युनिस्टहरूको पक्षपोषण गरिरहेका छन् । कम्युनिस्ट विरोधीहरूलाई तर्साउन भ्रम सिर्जना गर्ने र कम्युनिस्ट छापामार प्रचार शैलीको भद्दा नक्कल गर्दै अमेरिकामा रहेको नेपाली समुदायलाई आतङ्कित बनाउने प्रयास गरिरहेका छन् । हत्या हिंसा र कम्युनिस्ट लाल आतङ्कलाई बढाइ चढाइ गरेका उनीहरूले रेडियोमा बोलेका स्वर र लेखेका समाचार–लेख अहिले पनि खोज्ने हो भने भेट्न सकिन्छ । कम्युनिस्ट प्रोपोगण्डाको अभ्यास गर्दै गर्दा उत्पन्न हुनसक्ने प्रतिक्रियाले यहाँ अन्य सामान्य नेपालीलाई अप्ठेरो नहोस् भनेर राखिएको धर्यतालाई कमजोरी ठानिएको छ ।
लगभग ४ लाख नेपालीहरूले जीविकोपार्जन गरिरहेको मुलुक अमेरिका । नेपाल राष्ट्र बैङ्कको २०१८ को तथ्याङ्क अनुसार सबै भन्दा बढी रेमिट्यान्स भित्राउने देश हो अमेरिका । यही देशको सरकारको नीति विरुद्धमा कुनै साइनो सपना नभएको देश भेनेजुयलाको समर्थनमा नेपालको कम्निस्ट सरकारले बोल्दा यहाँ भएका आफ्ना नागरिकलाई पर्न जाने असरको पनि हेक्का नराख्ने कम्निस्ट सरकारको नीतिको समर्थन गर्नु पनि यहाका कम्निस्ट पत्रकार र कम्निस्ट कार्यकर्ताको दिमागलाई चाहिँ के भन्ने ?

अमेरिकामा ब्याक्तिगत भ्रमणमा बाहेक सबैले म कहिले पनि कम्निस्ट सदस्य थिइन् , छैन , हुनेछैन भनेर लिखित शपथ खानु पर्छ । यदि यो कुरा झुटा प्रमाणित भएको खण्डमा सजाय हुनुका साथै देश निकाला समेत हुन सक्नेछ । यस कारण भ्रम सिर्जना गर्नु अगाडि आफ्नो विगतलाई सम्झिए मात्र पुग्छ ।

लोकतन्त्र र मानवाधिकारको पक्षमा खुलेर बोलौँ । गलत कर्म गरेकाहरूको विरोधमा स्वर बुलन्द गर्रौ । हामी सबै नेपाली राजनैतिक पूर्वाग्रह बिना मिलेर , सहयोगी भएर , एक अर्कामा विश्वास र मित्रवत भएर बसौँ । कम्निस्ट र आतङ्ककारीको सहयोगका लागि लेखिएका र समर्थन देखिएका कुनै पनि कुराहरू फेसबुक लगायत कुनै पनि सामाजिक सञ्जालमा पोस्ट , शेयर , लाइक र समर्थनमा कुनै प्रतिक्रिया नदियौं ।

(लेखको निजी विचार हुन् -स)


१६ चैत्र २०७५, शनिबार ०५:५४ मा प्रकाशित