सगरमाथाको फेदमा गल्फ

दूरबिन नेपाल     ६ आश्विन २०७६, सोमबार १३:४१    

Anil Baral Real Estate

 काठमाडौं ६ असोज : बाह्रखरी मिडिया प्रालिको आयोजनामा ‘बाह्रखरी एभरेष्ट गल्फ, २०१९’ प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता सगरमाथा क्षेत्रमा हुनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनामा उक्त प्रतियोगिता आगामी कात्तिकमा दुई चरणमा हुने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिनुभयो । प्रतियोगिता कात्तिक ३ गते चार हजार २५० मिटर उचाइमा रहेको ‘कोङ्दे री’मा खेलाइनेछ । प्रतियोगितामा ४० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

 

दोस्रो चरणको खेल कात्तिक ९ गते काठमाडौँको गोकर्ण सफारी रिसोर्टमा हुनेछ । दुबै चरणमा गरी झण्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रधानले बताउनुभो । प्रतियोगिताबाट नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धनमा मद्दत पुग्ने आयोजक संस्थाले जनाएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान ‘होल गल्फ कोर्स’ तयार भइरहेको छ ।

 

प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गर्न लागिएको आयोजक संस्थाको दाबी छ । प्रतियोगिताको समाचार सम्प्रेषणका लागि भारत, श्रीलङ्का, चीन, अमेरिका, सिङ्गापुर, हङकङ, बेलायतलगायत मुलुकका सञ्चारकर्मीलाई आमन्त्रित गरिएको छ । “सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गलगायत अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरेका छौँ”, प्रधान सम्पादक प्रधानले भन्नुभयो, “नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।”
रासस


६ आश्विन २०७६, सोमबार १३:४१ मा प्रकाशित