अमेरिका आउन चाहनेलाई डिभी आवेदन खुला

दूरबिन नेपाल     १६ आश्विन २०७६, बिहीबार ०६:११    

Anil Baral Real Estate

अमेरिका  ।

अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन खुला गरेको छ । अमेरिकी दूतावासद्वारा बुधवार जारी विज्ञप्तिमा जनाए अनुसार बुधवार राती ९ः४५ बाट यो कार्यक्रमको लागि अनलाइन आवेदन दिन सकिनेछ । विज्ञप्तिमा आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहन गरेको छ भने डिभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने जानकारी समेत गराएको छ ।

आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन विज्ञप्तिमा भनिएको छ। आवेदन दर्ता गर्दा आफ्ना पति, पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नुपर्नेछ।

यस पटक आवेदन दिँदा बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरणसमेत राख्नुपर्नेछ । राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति उल्लेख गर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्नेछ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार डिभीका लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तरवार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्योल गर्नेछन् ।


१६ आश्विन २०७६, बिहीबार ०६:११ मा प्रकाशित