न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

न्युयोर्क । न्युयोर्क सिटी कम्पट्रोलरले तामाङ समाज अमेरिकालाई सम्मान गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका हुन् ।
न्युयोर्क सिटी कम्पट्रोलरबाट यो सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने यो सम्मान २०१७ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र २०१८ मा अधिकार संस्थाले पाएका थिए ।
दक्षिण एसियालीमुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाकी महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन् । तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले प्रशंसा गरे । यस्तै सम्मान ग्रहण गर्दै महासचिव विनिताले सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्युयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने बताइन ।
१३ कार्तिक २०७६, बुधबार १२:१७ मा प्रकाशित