काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट आज संसदमा पेश गरेको छ।
आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको छ।
आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको मन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।
कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत र पुँजीगततर्फ ५८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले संघीय सरकारबाट कुल बजेटको २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ स्रोत जुटाउने जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-