अमेरिका, जुन ५ । रोहित शर्माको शानदार शतकिय पारीको सहयोगमा भारतले क्रिकेट विश्वकपमा बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ ।
द रोज बल मैदान साउथहप्टनमा दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य भारतले १५ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो। दक्षिण अफ्रिकाको भने यो लगातार तेस्रो हार हो।
भारतका लागि रोहित शर्माले नटआउट १ सय २२ रनको शतकीय पारी खेले। १४४ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे। यस्तै हार्दिक पाण्ड्य १५ रनमा नटआउट रहे। पाण्ड्यले चौका प्रहार गर्दै भारतका लागि विजयी रन बटुलेका थिए।
रोहितले १ सय २८ बलमा शतक पूरा गरेका थिए। सो क्रममा उनले १० चौका र २ छक्का प्रहार गरे। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो २३औं शतक हो। २०७ औं एकदिवसीय अन्तरराष्ट्रिय खेल ल खेलिरहेका रोहितले ४१ अर्धशतक समेत प्रहार गरेका छन्।
यस शतकसँगै भारतका लागि एकदिवसीय(वान डे)अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने रोहित तेस्रो खेलाडी बने। उनि भन्दा पहिला सचिन तेन्दल्करले ४९ र विराट कोहलीले ४१ शतक प्रहार गरेका छन्। रोहित सौरभ गांगुलीको २२औं शतकलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका हुन्।
वान डेमा तेहोरो शतक प्रहार गर्ने एकमात्रै खेलाडी रोहित जारी विश्वकपमा शतक प्रहार गर्ने एसियाको पहिलो खेलाडी समेत बने। जारी विश्वकपमा यो तेस्रो शतक हो। यसअघि इंग्ल्याण्डका जोव रुट(१०७) र जस बटलर(१०३)ले शतक प्रहार गरिसकेका छन्।
रोहितसँगै भारतका लागि महेन्द्रसिंह धोनीले ३४ रन बनाए। त्यसअघि भारतले विराट कोहली १८, केएल राहुल २६ र शिखर धवनलाई ८ रनमा गुमाएको थियो।
टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो। उसका क्रिस मौरिसले ४२, फाफ डुप्लेसिसले ३८, एल फिहुल्केवाले ३४ तथा डेबिड मिलर र कागिसो रबाडाले समान ३१- ३१ रन जोडेका थिए।
भारतका यूजभेन्द्र चाहलले ४ तथा जसप्रित बुम्राह र भुवनेश्वर कुमारले समान २- २ विकेट लिए।
प्रतिक्रिया लेख्नुहोस्:-