ह्युस्टन, अक्टुवर १२/ दशैं शुरु भैसकेको छ। आज दशैंको तेश्रोदिन माहौल कतै रमझमयुक्त देखिएको छैन। बाहिर रमझम र दशैंको उल्लास नदेखिएपनि नेपालीहरुको घर-घरमा भने दशैं आइसकेको छ। खसी किन्ने र केटाकेटीलाई नयाँलुगा किन्ने परम्पराको निरन्तरता प्रवास मै भएपनि नेपालीहरुले गरिरहेकै छन्। “दशैंमा नेपालमा जस्तो घरमै खसी ढाल्न त पाइन्न, तैपनि दशैं शुरु हुने बित्तिकै खसी किन्न र केटाकेटीलाई नयाँ कपडा किन्न हतारो भैहाल्छ”- ह्युस्टनका मोहन आचार्यले दूरबिन नेपाललाई भने। “हिजो छिमेकीहरु अम्रित पौडेल, किशोर घिमिरे, सागर भुषालसंगै गएर तीनवटा खसी ल्याएपछि दशैं आए जस्तो हुन थालेको छ। उता नेपालमा जस्तो रमाइलो नभए पनि आफ्नो चाडपर्व र संस्कृतिलाई सकेसम्म उल्लासमय बनाउने प्रयास गरेका छौं”-आचार्यले भने।
प्रवासमा चाडपर्वहरु आउँदा नेपालमा जस्तो जताततै उत्सवमय वातावरण देखिंदैन। नेपाली समुदायले आफूलाई पाएक पर्ने दिन सकेसम्म धेरै नेपालीहरु एकै ठाउँमा जम्मा भएर शुभकामना साटा-साट गर्ने र सामुहिक दशैं भोज गर्ने परम्परा रहँदै आएको छ। यसै क्रममा ह्युस्टनका नेपाली समुदायले पनि स्थानीय ताज हलमा भोली शनिवार अक्टुवर १३ बेलुकी सात बजे दशैं भोज तथा शुभकामना कार्यक्रम राखेका छन्।
नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को संयोजनमा हुन लागेको दशैं भोजकै दिन एनएएचको अधिवेशन एवं हालै सम्पन्न निर्वाचन कार्यक्रमबाट निर्विरोध चयन भएका नयाँ कार्यसमितिको घोषणा समेत हुने कार्यक्रम रहेको एनएएचले जानकारी गराएको छ। दशैंभोजमा सहभागी भएर नेपालीहरुको महान चाड दशैं मनाउन सम्पूर्ण ह्युस्टनवासी नेपालीहरुलाई एनएएचले अपील समेत गरेको छ।
अक्टुवर १४ मा प्राण-प्रतिष्ठा पूजा
यसैबीच गत बुधवार, अक्टुवर १० बाट पशुपतिनाथ मन्दिर ह्युस्टनमा हुने भनिएको र प्राण प्रतिष्ठा पूजा अक्टुवर १४, आइतवारका दिन बिहान ११ बजेबाट हुने भएको मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको छ। नेपालबाट ल्याइएको श्रीगणेश, दुर्गा भवानी तथा राधाकृष्णको मूर्तिको प्राण-प्रतिष्ठा पूजामा सहभागी भएर नेपालीहरुको आफ्नै मन्दिरको संचालन तथा रेखदेखमा सहयोग पुय्राउन पनि मन्दिर व्यवस्थापन समितिले नेपाली समुदायमा अपील गरेको छ।








प्रतिक्रिया लेख्नुहोस्:-