केशवराम राई,न्युयोर्क । कोभिड १९ बाट अत्यधिक प्रभावति क्षेत्र न्युयोर्कले यतिबेला सबैको सहयोग खोजेको छ । न्युयोर्कको अति प्रभावित क्षेत्र क्वीन्समा नेपालीहरुको बसोबास पनि अत्यधिक छ । सो क्षेत्रमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको संख्या यकिन नै नभएपनि अत्यधिक रहेको अनुमान लगाउन गाह्रो छैन । केहि दिन अघि नेपाली युवा अनिल सुब्बाको कोरोना भाइरसकै कारण निधन भएपछि नेपाली समुदाय अझै त्रसित अवस्थामा छ । यसविचमा नेपाली समुदायका अगुवाहरुले केही सहयोगको प्रयास नथालेका होइनन । तर सो प्रर्याप्त हुन सकेको छैन ।
मुलतः कोरोनाबाट त्रसित भएकै कारण मन भएपनि सहयोग गर्न नसकेको अवस्था छ । यो समयमा नेपाली समुदाय के कस्तो अवस्थामा छ भन्ने जान्नपनि मुस्किल देखिन्छ । हुन त केही नेपालीहरु स्वस्फुर्त रुपमा सहयोगमा जुटिरहेका छन । पीडितहरुको घरघरमा ग्रोसरी पुर्याउने तथा औषधिमुलक सामग्रीहरुको जोहो गर्ने काम केही भइरहेपनि सो पर्याप्त छैन । न्युयोर्कका सामाजिक संघसंस्थाहरु पनि यतिबेला बेग्ला बेग्लै कामगर्ने होइन उनीहरु एकजुट भएर काम गर्नु जरुरी देखिन्छ ।
न्युयोर्कमा रहेका फिप्ना, एनआरएनए च्याप्टर, जनसम्पर्क समिति लगायतका संघसंस्थाहरुले सहयोगको कार्य अघि पनि बढाएका छन । तर सबैले एउटै जोड र बलका साथ एक भएर यो चुनौतीको सामना गर्न सकेमात्र सहयोग र राहत प्रभावकारी हुने देखिन्छ । अझ विभिन्न संघसंस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले आफ्ना सबै संघसंस्थाहरु परिचालन गरिरहेको छ । अब यसमा सबैले होस्टेमा हैंसे गर्नु जरुरी छ । सहयोगको लागि विभिन्न समिति बनाएको घोषणा गरेरमात्र होइन काम नै गरेर देखाउनु पर्ने बेला आइसकेको छ ।
हामीहरुले यतिबेला घरघरमा सहयोग पुर्याउने काम गरिरहेका छौं तर यो पर्याप्त छैन यसमा धेरै स्वयंसेवकको जरुरी छ । कोरोना प्रभावितहरुको नजिक पो जान नहुने हो त अलि टाढै बसेर सहयोग सामग्री दिनलाई त डराउनपनि पर्दैन । एनआरएनए अमेरिकाले चिकित्सकहरुको टोली गठन गरेको जनाएको छ । तर सो टोलीले कहां कसरी काम गरिरहेको छ भन्ने जानकारीपनि बाहिर आउन जरुरी छ ।
समस्या अर्कोपनि छ । कोरोनाबाट ज्यान जाने घटनाहरुमात्र प्रचार भएको छ । कोरोना संक्रमण भएर निको भएका पनि धेरै नेपालीहरु छन । सञ्चार माध्यमले संक्रमणबाट निको भएका व्यक्तिहरुको बारेमापनि समाचार बनाउन जरुरी छ । कोरोना लागि हालेमा सबै सकियो भन्ने होइन त्यसबाट धेरैजना निको भएकापनि छन । यस्ता खाले सकारात्मक सन्देशपनि फैलाउन जरुरी छ । अर्को तर्फ सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको छैन । नेपालीहरुले संक्रमितहरुको लागि क्वारेन्टाइन हलको व्यवस्थापन गर्न सक्छन । कतिपय नेपालीहरु होटल सञ्चालक छन । कतिपय नेपालीहरु रियल स्टेटका व्यवसायी छन ।
उनीहरुले पीडित नेपालीको लागि क्वारेन्टाइन स्थलको व्यवस्थापन गर्न सक्छन । त्यसमापनि नेपाली संघसंस्थाहरुले किन पलह नगर्ने ? अर्कोतर्फ न्युयोर्कका स्थानीय राजनीतिक दलका नेताहरुसंग नेपालीहरुको राम्रो सम्पर्क छ । कोरोना पीडितहरुले स्थानीय सरकारबाट के कस्ता सेवा सुविधा पाउन सक्छन भन्नेबारे छलफल चलाउन सके नेपालीहरु लाभान्वित हुन सक्छन ।
नेपाल सरकारको भुमिका
नेपालीहरुलाई परेको बेला मातृभुमिको भुमिका अत्यन्त महत्वपुर्ण हुन जान्छ । नेपाल सरकारले विदेशमा बसेका नेपालीहरुलाई परेको बेला के पहल गर्न सक्छ । न्युयोर्कको नेपाली महावाणिज्य दुतावासले पहल गर्नुपर्छ । नेपालको राजदुतावासले भुमिका खेलेर पीडामा परेका नेपालीको लागि केह ीगर्न सकेमा स्वदेशमा बस्ने आफन्तहरु लाईपनि राहत हुने थियो ।
कोरोना एउटा महामारी हो । यसबाट बच्न हरदम प्रयास गरौं । तर लागि हालेमा लुकाएर नबसौं अफ्नो पीडा भनौं जसले सहयोग गर्न सजिलो हुन्छ ।
लेखक न्युयोर्कका सामाजिक अभियन्ता हुन ।
प्रतिक्रिया लेख्नुहोस्:-