काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध तीन रनले विजयी भएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो । नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।
अन्तिम ओभरमा वुल्भ्सलाई जितका लागि २० रन आवश्यक थियो । नेपालबाट बलिङमा आएका राशिद खानलाई वुल्भ्सका फियोन ह्यान्डले छक्का प्रहार गरे । दोस्रो बलमा ह्यान्डले दुई रन लिए । तेस्रो बलमा पनि ह्यान्डले दुई रन नै लिए । चौथो बलमा ह्यान्डले चौका प्रहार गरेपछि वुल्भ्सलाई जितका निम्ति दुई बलमा ६ रनमात्रै आवश्यक बनेको थियो ।
पाँचौँ बलमा ह्यान्ड दुई रनका लागि दौडिए पनि आरिफको ‘थ्रो’ मा विकेटकिपर विनोद भण्डारीबाट रनआउट भए । जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा क्रिजमा नयाँ आएका लियम म्याकार्थीले एक रनमात्र लिएपछि नेपाल तीन रनले विजयी भएको हो । अन्तिम बल ‘फुट टस’ भएकाले वुल्भ्सका खेलाडीले ‘नो बल’को माग गरे पनि अम्पायर अधिप प्रधान र बासु कर्णले उक्त मागलाई खारेज गरिदिएका थिए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ५२–४ को नाजुक अवस्थाबाट डेलानीले मोर्गन टोपिङसँग १२९ रनको शतकीय साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । टोपिङले ३७ बलमा चार चौका र चार छक्कासहित ६० रन जोडे । यसबाहेक, ओपनर रस अडायरले ३१ रन बनाउँदा फियोन ह्यान्डले २२ रन थपे ।
प्रतिक्रिया लेख्नुहोस्:-