काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे । बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए । कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाएको थियो ।
खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए ।
यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बङ्गलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए । अञ्जनले ३८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । विशाल राईले प्रहार गरेको फ्रिकिमा पेनाल्टी एरियाभित्रबाट फ्री हेडरमार्फत अञ्जनले उत्कृष्ट गोल गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-