ह्युस्टन, अक्टुवर १४/ बृहत्तर ह्युस्टनका नेपाली समुदायले गतबर्ष आफ्नो स्वामित्वमा ल्याएको ८.२५ एकरमा फैलिएको श्रीपशुपतिनाथ मन्दिरमा नेपालबाट ल्याईएका श्रीगणेश, दुर्गा भवानी तथा राधाकृष्णको मूर्तिको प्राण-प्रतिष्ठा पूजा हिजो एक धार्मिक अनुष्ठान समारोहकाबीच सम्पन्न भएको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को संयोजनमा नेपालीहरुको आस्थाको केन्द्रको रुपमा विकसित गर्न लागिएको मन्दिर एवं सामुदायिक केन्द्रको प्राण-प्रतिष्ठा पूजामा ह्युस्टनका गैर नेपाली हिन्दु समुदायबाट समेत उल्लेख्य सहभागिता रहेको थियो।
दिनकर अमात्यको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले नेपाली समुदायको स्वयंसेवाको मद्दतले मन्दिर र मन्दिर परिसरको बृहत सरसफाई र अल्पकालीन पुनर्निर्माण एवं पूनर्संरचनाको काम सकाएपछि हिजो प्राण-प्रतिष्ठा पूजा गरिएको हो। पूजा कार्यक्रममा एनएएचका नवनिर्वाचित अध्यक्ष डा. विष्णु नेपालले निर्वाचित भएको भोलीपल्टै नेपालीहरुको आस्थाको केन्द्र आफ्नै मन्दिर परिसरमा श्रीगणेश, दुर्गा भवानी तथा राधाकृष्णको मूर्तिको प्राण-प्रतिष्ठा पूजामा सरिक हुन पाउनु गर्वको विषय भएको बताएका छन्। मन्दिर व्यवस्थापन समितिसंग मिलेर मन्दिरको गुरु योजना अनुरुपका भौतिक संरचना निर्माणमा तत्काल कार्य थाल्ने योजना पनि डा. नेपालले दूरबिन नेपाललाई बताए। गैर नेपाली हिन्दु समुदायलाई पनि मन्दिरमा आकर्षण गर्ने योजना मन्दिर व्यवस्थापन समिति र एनएएचको रहेको पनि अध्यक्ष नेपालले सुनाए।
करीब तीनसयको संख्यामा उपस्थित नेपाली तथा भारतीय समुदायका हिन्दुहरुको सामुहिक सहभागितामा मन्दिरका पूजारी दिलीप शास्त्रीले धार्मिक विधिपूर्वक पूजा गराएका थिए। राधाकृष्णको मूर्तिका स्पोन्सर भारतीय भक्तजनको परिवार सहित मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य र सदस्य ज्ञानेश्वर श्रेष्ठ दम्पतिले मुख्य जजमानका हैसियतमा प्राण-प्रतिष्ठा पूजामा सहभागी भएका थिए।
अगाध आस्था र उत्साहपूर्वक पूजामा सहभागी भएका सयौं नेपालीहरुको अनुहारमा अभूतपूर्व खुसी सहजै देखिन्थ्यो। “१५ बर्षको ह्युस्टन बसाईमा आज जति खुसी कहिल्यै लागेन” समाजसेवी एवं वरिष्ठ पत्रकार तारा बरालको प्रतिक्रिया थियो। “मन प्रफुल्ल भएको छ, नेपाली हुनुको गर्व झन् धेरै छ। आज आफ्नै समुदायको मन्दिरमा नेपालीहरुको महान पर्व दशैंको अवसरमा भएको प्राण-प्रतिष्ठा पूजामा सहभागी हुन पाउँदा जीवनभर कै आनन्द अनुभूति भएको छ”, बरालले उत्साहित हुँदै भने। बराल जत्तिकै खुसी थिए अर्का ह्युस्टनवासी नेपाली समुदायका सहयोगी बच्चा तिवारी। समाजसेवी मधुकर अमात्य, एनएएचका निवर्तमान अध्यक्ष ज्योति घिमिरे, निवर्तमान उपाध्यक्ष समीर रावल, नवनिर्वाचित उपाध्यक्ष रविन्द्र श्रेष्ठ, गुल्मी समाजका उपाध्यक्ष रामकृष्ण सापकोटा, सचिव लक्ष्मण भण्डारी हुन् कि लेखा विज्ञ डा. बिलल पोखरेल, सबै परिवार सहित सहभागी थिए र त्यत्तिकै प्रफुल्ल र खुसी देखिन्थे। पत्रकार एवं साहित्यकार बिटु केसीको उत्साह पनि कम देखिन्नथ्यो। साइप्रसको नेपाली समुदायबाट उमापति भुषाल, गंगा शर्मा लगाएतका सामाजिक व्यक्तित्वहरु पूजामा सहभागी हुन पुगेका थिए।
मन्दिरको माहौल पुरै नेपालमय थियो भने दशैंका बेला केटाकेटीहरु नेपालमा पिंगमा झुम्मिरहे झैं लाग्दैथियो मन्दिर परिसरको चिल्ड्रेन पार्कमा चिप्लेटी र पिंग खेलिरहेका बालबालिकाहरुलाई देख्दा। नेपालीहरु आपसमा दशैंको शुभकामना साटा-साट गर्दै थिए भने कैयनको चासो चाहिं मन्दिरको पुनर्निर्माण र सहज संचालनका उपायहरुका बारेमा थियो।
पूजाकै दौरान कृष्ण प्रणामी मन्दिरका टहल किशोर महाराजले छोटो धार्मिक प्रवचन सहित हिन्दु धर्मका बारेमा बताएका थिए। अमेरिकी कंग्रेसको चुनावमा डेमोक्रेटिक पार्टीका टेक्सस डिस्ट्रिक्ट २२ का उम्मेदवार भारतीय मूलका श्री प्रिस्टन कुलकर्णी समेत मन्दिरमा पूजा गर्न आइपुगेका थिए।
मन्दिरमा स्थापित देवी-देवताका मूर्तिहरुको प्राण-प्रतिष्ठा पूजामा उत्साहपूर्वक सहभागी भएकोमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य अत्यन्तै खुसी देखिन्थे। महिनौं देखि मन्दिर परिसरको सरसफाई र मर्मत संभारमा निकै खटेका अमात्यको व्यक्तिगत र पारिवारिक सहयोग मन्दिर खरीद गर्दा देखि प्राण प्रतिष्ठा पूजा सम्पन्न हुँदासम्म उत्तिकै छ। पूजा सम्पन्न गरेकोमा नेपाली तथा गैर नेपाली हिन्दु समुदायलाई धन्यवाद दिंदै अमात्यले भने- “आज अति खुसी छु, हामीले हाम्रो मन्दिर पाएका छौं र त्यसमा संस्थागत पूजा शुरु गर्ने बाटो खुल्ला भएको छ।” उनले थप उत्साहित हुँदै भने- अब हाम्रो ध्यान मन्दिरको गुरु योजना बमोजिमको संरचना निर्माण तर्फ हुनेछ।”




तस्वीर: सुजन पण्डित














प्रतिक्रिया लेख्नुहोस्:-