अमेरिका, जुलाई ६, २०१८
रसियामा जारी फिफा विश्वकप २०१८ को क्वार्टर फाइनल खेल अबको केहीघण्टामा शुरु हुँदैछ। पहिलो खेल जुलाई ६ मा अमेरिकी सेन्ट्रल टाइम बिहान ९ बजे उरुग्वे र फ्रानसबीच हुँदैछ। सन् १९३४ मा भएको पहिलो विश्वकप र दोश्रो विश्वयुद्धका बेला स्थगित भएर १९५० मा आयोजित तेश्रो विश्वकपको बिजेता उरुग्वे र १९९८ को विश्वकप बिजेता फ्रान्सबीच हुने क्वार्टर फाइनल खेल सबै फुटबल पारखीहरुले चासो पूर्वक प्रतिक्षा गरिरहेका छन्।
फ्रान्स मेस्सीको अर्जेन्टिनालाई राउण्ड-अफ-१६ मा हराएर क्वार्टर फाइनल प्रवेश गरेको हो भने उरुग्वे रोनाल्डोको पोर्चुगललाई हराएर क्वार्टर फाइनल पुगेको हो ।
हेड-टु-हेड प्रतिस्पर्धामा फ्रान्स र उरुग्वे
हालसम्म १३ वटा विश्वकपमा सहभागिता जनाएको उरुग्वेले आधुनिक विश्वकप शुरु भएपछि खासै महत्वपूर्ण नतिजा ल्याउन सकेको छैन। उरुग्वे दुईपटक विश्व च्याम्पियन भैसकेको भएपनि त्यसपछिको उसको उपलव्धी चौथो स्थान भन्दा माथि जान सकेको छैन। १९५४, १९७० र २०१० मा चौथो स्थानसम्म पुगेको उरुग्वे विश्वकप २०१४ मा राउण्ड-अफ-१६ सम्म पुगेर बाहिरिएको थियो। बार्सिलोनाबाट खेल्ने लुइस स्वारेज उरुग्वेको सबभन्दा भरपर्दा फरवार्ड हुन्।
यसैगरी हालसम्म १५ पटक विश्वकपमा सहभागी भएको फ्रान्सले १९९८ मा विश्वकप जित्नु अघि १९५८ र १९८६ मा तेश्रो भएको थियो भने २००६ मा फाइनलमा इटालीसंग पराजित भएको थियो। २०१० मा ग्रुप स्टेजबाटै बाहिरिएको फ्रान्स ब्राजिलमा आयोजित गत विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको थियो। अर्जेन्टिनासंगको खेलमा दुईगोल गरेका किलियन बाप्पे (जर्सी नं१०) फ्रान्सको फुटबल स्क्वाडका सबभन्दा भर्पर्दा फर्वार्डका रुपमा देखिएका छन्। अर्जेन्टिनालाई राउण्ड-अफ-१६ मा पाखा लगाउन उनै बाप्पेको छिटो दौडने र बललाई नियन्त्रण गर्ने क्षमता काम लागेको थियो।
फ्रान्स र उरुग्वे विश्वकपमा हालसम्म तीनपटक खेलेका छन्, जसमध्ये दुईखेल बराबरी भएको थियो भने एउटा उरुग्वेले जितेको थियो। यि दुई टिमबीच पछिल्लो खेल दक्षिण अफ्रिकामा २०१० को विश्वकपमा भएको थियो। निकै खराब प्रदर्शनका रुपमा हेरिने सो खेलमा दुबै देशले गोलरहित बराबरी खेलेका थिए।
ब्राजिललाई पनि सहज छैन क्वार्टर फाइनल
भोली नै हुने अर्को क्वार्टर फाइनलमा पाँचपटकको विश्वकप बिजेता ब्राजिल र यूरोपको तर्फबाट जारी विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेको बेल्जियमबीच हुँदैछ। संसारभर करोडौं स्थायी फुटबल फ्यान भएको ब्राजिललाई यो वर्षको संभावित विश्वकप बिजेताका रुपमा समेत हेरिएको छ। विश्वकपमा ब्राजिल र बेल्जियमबीच अहिलेसम्म एउटा मात्र खेल भएको छ र सो खेल ब्राजिलले जितेको थियो। तसर्थ बेल्जियमलाई यो पटक पनि ब्राजिलले नै हराउने अनुमान गरिएको छ। तर यूरोपियन फुटबलको शक्तिशाली टोली ईंगल्याण्डलाई हराएर समूह चरणमा सबै खेल जितेको बेल्जियमले ब्राजिललाई हराउन सक्ने संभावना पनि उत्तिकै छ भन्छन् फुटबल पारखीहरु। चर्चित फुटबलर नेयमार ब्राजिलको तर्फबाट देखिने र हेरिने खेलाडी हुन् तर उनको यो विश्वकपको प्रदर्शन उच्चकोटीको छैन। र, खेलमैदानमा त्यत्तिकै पनि लड्ने, निकै ठूलो चोट लागे झैं गर्ने उनको शैलीप्रति फुटबल प्रशंसक र उनका फ्यानहरुले समेत रुचाएको देखिदैन।
अबको केही घण्टा पछि शुरु हुने क्वार्टर फाइनल खेलको प्रतिक्षा संसार भरका फुटबल प्रेमीहरुले गरिरहेका छन्। अर्जेन्टिना, जर्मनी, पोर्चुगल र स्पेनजस्ता विश्व फुटबलमा नाम कमाएका देशहरु क्वार्टर फाइनल नपुग्दै बाहिरिइसकेका छन्। क्वार्टर फाइनलमा ब्राजिल, फ्रान्स, उरुग्वे र ईंगल्याण्ड विश्वकप जितिसकेका देशहरु छन् भने बेल्जियम, स्विडेन, क्रोएसिया र आयोजक रसिया विश्वकपमा खासै उत्कृष्ट नतिजा ल्याउन नसकेका देशहरु मध्येका छन्। सेमिफाइनलमा यस अघिका तीन विश्वकप बिजेतादेश पुग्ने संभावना कायम नै छ भने कम्तिमा एउटा देश यस अघिको विश्वकप जितेकै मध्येबाट फाइनल पुग्ने प्रबल संभावना छ। भोली हुने दुई क्वार्टर फाइनलका बिजेताहरु सेमीफाइनलमा खेल्ने छन्।
फाइनलमा अहिलेसम्म एकपटक पनि विश्वकप नजितेको देशहरु मात्र पुग्ने एउटा संभावना पनि कायम नै छ।त्यस्तो हुनका लागि भोलीको खेलमा बेल्जियमले ब्राजिललाई हराउनु पर्छ भने सेमीफाइनलको अर्को प्रतिस्पर्धी फ्रान्स वा उरुग्वेलाई हराएर फाइनलमा जान सक्नुपर्छ भने ७ जुलाईमा हुने अरु दुई क्वार्टर फाइनलमा पनि ईंगल्याण्ड क्वार्टर फाइनल वा सेमीफ़ाइनलबाट बाहिरिनु पर्दछ। यदि त्यस्तो म्याच समीकरण बन्यो भने यो पटक नयाँ देशले विश्वकप जित्ने इतिहास बन्ने छ। तर यी सबै संभावित म्याच समीकरणहरु अब हुने क्वार्टर फाइनल र सेमीफ़ाइनल खेलको नतिजामा भरपर्ने छ।
स्रोत: फिफा












प्रतिक्रिया लेख्नुहोस्:-