अमेरिका, जुलाई १०१८
‘बाह्र बर्षमा खोला पनि फर्कन्छ भन्छन्’, फ्रान्सका हकमा पनि आज त्यस्तै संयोग जुर्न पुगेको छ। फिफा विश्वकप अन्तर्गतको पहिलो सेमीफाइनलमा बेल्जियमलाई १-० गोलले हराउँदै फ्रान्स १२ बर्षपछि फाइनलमा पुगेको छ भने २० बर्षपछि दोश्रोपटक फिफा विश्वकप जित्ने सम्भावनाबाट एक खेल मात्र टाढा रहेको छ फ्रान्स अब। फाइनलको यात्रा तय गर्न फ्रान्सेली फरवार्ड स्यामुअल युम्टिटीले (जर्सी नं ५) ५१ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो। तसर्थ युम्टिटी नै आजको खेलको हिरो साबित भए। प्रत्यक्ष खेल हेर्न र आफ्ना खेलाडीको हौसला बुलन्द पार्न सेन्ट पिटर्सबर्ग स्टेडियममा उपस्थित फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रंले खेल पूर्व बेल्जियमका राजा फिलिप्पेसंग न्यानो अभिवादन साटेका थिए। युम्टिटीले गोल गरेपछिको खुसी उनले बेल्जियन राजासंग प्रकट गरेको टेलिभिजन पर्दाहरुमा निकै प्राथमिकताका साथ देखाइएको थियो।
पहिलो हाफ गोलरहित बराबरी खेलेका फ्रान्स र बेल्जियम दुबै टिमको गोलगर्ने प्रयासहरु सफल भएनन्। बेल्जियमले करीब ६० प्रतिशत बल नियन्त्रण गर्दै गोलपोष्ट प्रहार पनि फ्रान्सले भन्दा बढी नै गर्यो र पनि गोल गर्नबाट भने चुक्यो। फ्रान्सका गोलकिपर लोरिसले केही शक्तिशाली प्रहारहरु रोकिदिए र बेल्जियमलाई गोल गर्न दिएनन्।
आजको सेमीफाइनल अघि फ्रान्स र बेल्जियमले विश्वकपमा दुई खेल खेलेकामा दुबै खेल फ्रान्सले नै जितेको रेकर्डले गर्दा समेत ‘प्रिम्याच प्रेडिक्सन्स’ पनि फ्रान्सकै पक्षमा बढी देखिएको थियो।
अर्जेन्टिनालाई राउण्ड-अफ १६ मा पाखा लगाउन दुई गोल सहितको योगदान गरेका १९ बर्षीय फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेको खुट्टाको जादु भने आज हेर्न पाएनन् दर्शकहरुले। व्यक्तिगत उपलब्धि भन्दापनि सिंगो टिमको उपलब्धि महत्वपूर्ण रहने भएकाले फ्रान्सको फाइनल यात्रा नै महत्वपूर्ण भएको खेलपछिका प्रतिक्रियाहरुमा फ्रान्सेली खेलाडी र प्रशिक्षकले बताएका छन्।
आजको हारसंगै पहिलो पटक फिफा विश्वकपको फाइनल खेल्ने बेल्जियमको चाहना अधुरै रह्यो भने फ्रान्स चाहीं दोश्रो पटक विश्व च्याम्पियन बन्ने दौडमा अब एक कदम मात्र पछाडि छ। फ्रान्सले अब भोली हुने दोश्रो सेमीफाइनलको बिजेता ईंगल्याण्ड वा क्रोएसियासंग फाइनल खेल्ने छ। यदि ईंगल्याण्ड फाइनलमा गयो भने दुबै प्रतिस्पर्धी टोली मध्ये जसले जितेपनि दोश्रो पटक विश्वकप जित्ने सौभाग्य प्राप्त हुनेछ। ईंगल्याण्ड ५२ बर्षपछि विश्वकप उचाल्ने पर्खाईमा छ भने फ्रान्स पनि जिदानको युगपछि एम्बाप्पे सहितका युवा खेलाडीहरुको अगुवाईमा दुई दशकपछि विश्वकप आफ्नो पोल्टामा पार्ने दाउमा रहेको छ।
तस्वीर: फिफा











प्रतिक्रिया लेख्नुहोस्:-