सानफ्रानसिस्को ,१० सेक्टेम्वर/
उत्तर क्यालिफोर्नियामा रहेका नेपालीहरूको पुरानो र ठुलो संस्था न्यान्सको मेगा प्रोजेक्ट ‘नेपाली सामुदायिक भवन’ निर्माणलाई सफल बनाउन आयोजित धार्मिक महोत्सव सम्पन्न भएको २० दिन पछि आयब्याय सार्वजनिक गरिएको छ । महोत्सवमा उठेको नगद ६८ हजार डलर मध्ये ५१ हजार खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । आइतबार दाता र धार्मिक महोत्सव आयोजक समितिको उपस्थितिमा आयोजित कार्यसमिति बैठकमा प्रस्तुत हरहिसावबाट संस्थाको खातामा करिब १७ हजार डलर मात्र बचत गर्न सफल भएको देखिन्छ ।
खर्च विवरण माथि प्रश्न
आयोजक समितिले महापुराणमा पण्डित र वाद्यवादनलाई कति दिने र कुन कुन शीर्षकमा कति खर्च गर्ने भनेर पहिला नै निर्णय नगर्दा खर्च बढेको धेरैको अनुमान छ । सानफ्रानसिस्को बे एरियाका सक्रिय समाजसेवी श्री थापा काजी साबले बैठकमा बोल्दै खर्च विवरण माथि थुप्रै प्रश्नहरू गरे ” पण्डित र वाद्यवादनलाई दिइने रकम पहिला नै किन छिनोफानो भएन ? चन्दा माग्ने संस्था न्यान्सले एनपी फान्डेशनलाई दुई हजार चन्दा दिएको देखियो । चन्दा मागेर चन्दा दिन मिल्छ ?” थापाले प्रश्नको वर्षा गरिरहँदा अरू सहभागी पनि उठेर प्रश्नको खात लगाउँदै थिए
लामो समय देखि यस अभियानमा सहभागी कृष्ण राज गिरीले भने “संस्थाको लागि यति ठुलो काम गर्दा पहिला नै अनुमानित खर्च सार्वजनिक गर्नु पथ्र्यो । खर्च पारदर्शी नगरिनु दुखद कुरा हो” । गिरीले संस्थागत काममा दुईचार जनाको मनोमानी भएको भन्दै दुखेसो पोखेका थिए । “निर्णय संस्थागत हुनु प¥यो । कसलाई किन र कति रकम दिने सबैसँग सरसल्लाह नगरी गुपचुपमा निर्णय गरेर पछि बाहिर ल्याउनु राम्रो देखिएन ।”
एजेन्डामा परेन
कवोल भएको करिब १० लाख डलर मध्ये बाकी ९ लाख ३० हजार डलर उठाउने रणनीति र त्यसलाई कार्यान्वयन गर्ने समिति बनाउने विषय आइतबारको बैठकको एजेन्डा समेत बनेन । न्यान्सका कोषाध्यक्ष प्रेम परियार भन्छन् “आगामी बैठकमा यो विषयमा छलफल हुने छ ।” बैठकमा सहभागी कतिपयले यो विषय उठान गरेका थिए ।
कार्यसमिति सदस्य प्रिन्स युवराज कार्की भन्छन् “कवोल गरेको रकम सुरुका दुई वर्ष ३३ प्रतिशत र तेस्रो वर्षमा ३४ प्रतिशत उठाउन सुझाव पेस गरेको थिए । तर छलफल गरेर टुंगोमा पु¥याउने काम भएन ।” पैसा उठाउने काम निक्कै बोझिलो भएकाले जिम्मेवारी लिएकाहरूले विषयको गंभिरयतालाई बुझ्नु जरुरी हुन्छ । कार्यसमिति सदस्य सागर श्रेष्ठ भन्छन् “बाकी पैसा पहिला कार्य समिति र आयोजक समितिका पदाधिकारी र सदस्यबाटै उठाउनु पर्छ । यसको सुरुवात एक दुई जनाबाट भइसकेको छ ।”
यस्ता विषयमा समयमा योजना, रणनीति, कार्यनीति र सही समीक्षा भएन भने सन् २०११ को महापुराणमा कबुल भएको रकम अझै उठ्न नसकेको ब्याथा दोहोरिन सक्छ । दुई हप्ता अगाडि पण्डित, स्वयमसेवक र भजन टोलीलाई बिदाइ गर्दा न्यान्सका महासचिव प्रितेश कार्कीले पैसा उठाउने कामको सुरुबाट कार्यसमिति पदाधिकारी र सदस्य बाटै हुनु पर्ने र त्यसका लागि आफू तत्पर रहेको बताएका थिए । त्यही मञ्चबाट नेपाली सामुदायिक भवन निर्माण समितिका संयोजक उत्तम कार्कीले पनि आफैबाट सुरुवात गर्ने बताए । ठुला दाताहरूले आफैबाट यसको थालनी गरेमा मेघा प्रोजेक्ट असम्भव छैन ।
यस पटका ठुला दाताहरूको सुचीलाई हेर्ने हो भने ३० दाताबाट ६० प्रतिशत अर्थात् ६ लाख डलर रकम कबुल भएको छ । तर ठुला दाताहरूमध्येका यज्ञ नेपालले मात्र अहिलेसम्म १० हजार डलर मात्र जम्मा गरेको देखिन्छ । धार्मिक महोत्सव आयोजक समिति संयोजक ईश्वर सिटौला र उनका सहयोगीहरूले दाताहरूसँग तत्काल केही रकम लिने रणनीति अख्तियार गर्न नसक्दा यस्तो भएको हो । कार्यसमिति र आयोजक समितिलाई समेत जोड्ने हो भने करिब ७५ प्रतिशत रकम कवोल भएको छ । यसरी केलाउँदा बाकी १९ प्रतिशत कबुल रकम साना दाताहरूबाट उठाउनु पर्ने हुन्छ । ईश्वर सिटौला भन्छन् “पैसा उठाउन महापुराण लगाउने कन्सेप्ट मेरै हो । पैसा तत्काल देऊ भन्न मिलेन । दातावाटा बढी रकम लिने प्रयास गरेको हो । सिटौलाले आफूले कवोल गरेको १५ हजार मध्ये ३ हजार ४ सय संस्थाको खातामा जम्मा गरिसकेको बताए ।”
ठुला दाताहरूले समयमा रकम नबुझाउँदा बोर्ड अफ ट्रष्टि गठन गर्न नमिल्ने भएको छ । विधानले २५ हजार डलर भन्दा बढी सहयोग गर्ने दाताहरूलाई बोर्ड अफ ट्रष्टिमा राख्ने व्यवस्था गरेको छ । २५ हजार डलर भन्दा बढी कवोल गर्ने १४ जना छन् । संस्थाको खातामा अनिल पाण्डेबाट मात्र २५ हजार डलर दाखिला भएको देखिन्छ । प्रिन्स युवराज कार्की भन्छन् “अहिले सम्म बोर्ड अफ ट्रष्टिका लागि अनिल पाण्डे मात्र योग्य देखिएका छन् । कवोल गरेको पैसा नबुझाई बोर्ड अफ ट्रष्टिमा बस्न मिल्दैन ।” दूरबिन नेपालले यस विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा न्यान्सका अध्यक्ष रविन्द्र राई केही समय पछि कुरा गर्ने भन्दै पन्सिए । अहिलेसम्म बढी रकम दाखिला गर्ने दाता पाण्डे भन्छन्
“सामुदायिक भवन वनाउछौ भनेर हल्ला मात्र गर्ने हो भने फरक हो बनाउने नै हो भने कार्यसमिति र आयोजक समितिका सबैले ६ महिना भित्र कवोल गरेको करम संस्थामा दाखिला गर्नु पर्छ ।”
५५ हजार डलर दान कवोल गर्दै कम्यूनिटि सेन्टर निर्माणमा दोस्रो ठुलो दाता बन्न पुगेका व्यवसायी यज्ञलाल श्रेष्ठ भन्छन् “काम हुने वातावरण बन्नसाथ बोलेको ५० प्रतिशत रकम दिन तयार छु ।” श्रेष्ठले नापा, सान्तारोजा, सोनामा, सन्निभेल, सानहोजे , सेक्रोमेन्टो लगायतका नेपालीहरूको बाक्लो बस्ती भएका ठाउँबाट दाताहरूलाई समेटेर नयाँ कार्यसमिति बनाएमा सामुदायिक भवन निर्माण गर्न सजिलो हुने श्रेष्ठले सुझाव पनि दिएका छन् । श्रेष्ठले भने “सबैलाई अटाउन सक्ने गरी समिति बनाउँदै र आवश्यकता अनुसार विधि विधान परिवर्तन गरे जानु पर्छ ।”
नेतृत्वलाई चुनौती
रकम कबुल भयो भनेर दङ्ग पर्ने अवस्था छैन । उठाउन एकदम गाह्रो छ कार्यसममिती सदस्य ध्रुव बस्याल भन्छन् “यसका लागि जिम्मेवारी र नेतृत्व नयाँलाई दिएर पुरानाहरूले सहयोग गर्नु पर्छ ।” पुरानाहरूलाई नयाँहरूले चुनौती दिन थालेका छन् । बैठकमा कार्यसमितिका पूर्व पदाधिकारी सुजित सिंहले भने “पहिलाको कार्यसमितिकाले रिटायरमेन्ट लिनु पर्छ । नयाँलाई स्थान दिनु पर्छ । चिनी धेरै खादा मिठो हुँदैन । यस्ता कामका लागि नयाँ नेतृत्व विकास गर्नु पर्छ ।”
न्यान्सका अध्यक्ष रविन्द्र राईले नेतृत्व माथि उठेको प्रश्नको जवाफ दिन चाहेनन् । नेपाली सामुदायिक भवन निर्माण समिति संयोजक उत्तम कार्की भन्छन् “नेतृत्वलाई सधैँ प्रश्न गर्ने तर केही काम नगर्नेहरूबाट धेरै अपेक्षा गर्न सकिँदैन । ”
सामुदायिक भवन निर्माणका लागि सहयोग पुगोस् भनेर खोलिएको राफलका विजेताहरूलाई आइतबार पुरस्कार वितरण गरिएको छ । उत्तम कार्कीका अनुसार राफलवाट संस्थालाई ५० हजार डलर भन्दा बढी नाफा भएको छ । विजेताहरूले समेत सामुदायिक भवनका लागि चन्दा दिएका छन् ।
फोटो:सागर श्रेष्ठ












प्रतिक्रिया लेख्नुहोस्:-