अमेरिका, सेप्टेम्वर २८
फेसबुक प्रयोगकर्ताहरुको एकाउण्ट फेरि एकपटक सुरक्षा खतरामा परेको छ। करीब पाँचकरोड फेसबुक प्रयोगकर्ताहरु ह्याकरको निशानामा परेको जानकारी फेसबुकले दिएको छ। यस पटक पनि प्रयोगकर्ताहरुको प्रोफाइलमा भएका व्यक्तिगत सूचनामा अनधिकृत पहुँच भएको अनुमान छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला कैयन अमेरिकी मतदाताहरुको तथ्याँक क्याम्ब्रिज एनालिटिका नामको डेटा कम्पनिले अनधिकृत रुपमा प्रयोग गरेको भन्ने आरोपका सन्दर्भमा गत मार्चमा अमेरिकी सिनेट समक्ष प्रस्तुत भएका फेसबुकका मालिक मार्क जकरबर्गले प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना सुरक्षा फेसबुकको प्रमुख दायित्व हुने भनेका थिए। तर समस्या पुन नयाँ रूपमा आएको छ ।
फेसबुकको प्रडक्ट म्यानेजमण्टका उपाध्यक्ष गाय रोजनले आज जारी गरेको सेक्युरिटी अपडेटका अनुसार सेप्टेम्वर २५ मै इन्जीनियरिंग विभागले यसका करीब पाँचकरोड एकाउण्ट माथि निशाना बनाएको हुनसक्ने जानकारी पाएको थियो। त्यस्तो सुरक्षा खतरा देख्नासाथ सम्वन्धित प्रहरी अधिकारीहरुलाई जानकारी गराइएको र संभावित सुरक्षा जोखिममा परेका प्रयोगकर्ताहरुको एकाउण्टमा थप क्षति नपुगोस् भनेर तत्काल सुरक्षाका उपायहरु अपनाइसकिएको फेसबुकले जनाएको छ।
फेसबुकको ‘View As’ भन्ने फिचरमा आक्रमण भएको पाइएकोले हाल त्यो फिचर केही समयका लागि इन्एक्टिभ गरिएको फेसबुकले जनाएको छ। उपरोक्त फिचरबाट प्रयोगकर्ताले आफ्नो प्रोफाइल अरुले कस्तो देख्छन भनेर हेर्न मिल्ने हुन्छ। यो फिचरमा भएको आक्रमणले जोखिममा परेका प्रयोगकर्ताहरुको ‘प्रोफाइल इन्फर्मेसन’को सुरक्षा जोखिम बढाएकोछ। यसबाट भएको हानीको एकिन विवरण आइनसकेकोले प्रयोगकर्ताहरु पनि चनाखो हुनुपर्ने देखिन्छ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यस घटनालाई फेसबुकले अति सम्वेदनशील रुपमा लिएको र प्रयोगकर्ताहरुको सूचना सुरक्षामा कुनै किसिमको सम्झौता नहुने बताएका छन्।
फेसबुकले यस अघि सुरक्षा खतरामा परेका थप चार करोड समेत गरेर नौ करोड एकाउण्टको सुरक्षाका सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो न्यूजफिडमा कुनै एकाउण्ट सुरक्षा सम्वन्धि सन्देश छन् भने सोही अनुरुप गर्न पनि फेसबुकले भनेको छ। सुरक्षा खतरामा परेका प्रयोगकर्ताहरुले आफ्नो एकाउण्ट लग-आउट गरेर पून लग-इन गर्नु उपयुक्त हुने भनिएको छ।
https://newsroom.fb.com/news/2018/09/security-update/amp/?__twitter_impression=true
स्रोत- फेसबुक न्यजरुम/ फक्सन्यूज









प्रतिक्रिया लेख्नुहोस्:-