न्यु योर्क, २८ सेप्टेम्बर/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा एनआरएनए अमेरिका तथा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूसँग भेट गर्नुभयो ।
भेटघाट क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ” क्रमबद्ध रूपमा भएका बलात्कारका घटनाहरूले हामीलाई लाज लाग्ने अवस्थाको श्रृजना भएको छ । एक हिसाबले भन्ने हो भने हाम्रो संस्कृति पतन भइरहेको छ । हाम्रो गौरवपूर्ण संस्कृतिमा हमला भइरहेको छ र हामी पतनको दिशामा गइरहेका छौँ । ” मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,” निर्मला पन्त हत्या प्रकरणमा विभिन्न तहमा अनुसन्धान भइरहेको छ । सरकार यस विषयमा तत्परताकासाथ् लागिपरेको छ।” उहाँले अगाडि भन्नुभयो,” देश भित्र रहँदाभन्दा परदेशमा हुँदा देशको माया बढी हुन्छ । प्रवासमा आएपछि म कुन जातको भन्नु भन्दा हामी नेपाली भनेर बाचौँ । ”
सो अवसरमा एनआरएनए अमेरिकाको अध्यक्ष डा. केशव पौडेलले यस पटक सार्वजनिकरुपमा कार्यक्रम गर्न नसके पनि अर्को पटक राख्न सकियोस् भन्ने बिचार राख्नुभयो । पौडेलले आफ्नो मन्तव्य राख्ने क्रममा गैर आवासीय नेपालीहरूलाई प्रदान गरिने नागरिकता सहज ढङ्गले लिन सक्ने व्यवस्था मिलाउन हिउँदे अधिवेशनबाट पास हुन सकोस् भन्ने भनाइ राख्नुभयो । विदेशमा रहने नेपालीलाई लाग्दै आएको दोहोरो कर प्रणाली हटाउन पहल गर्नसमेत अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ ।
तस्विर श्रोत: बि.आर. लामाको फेसबुक











प्रतिक्रिया लेख्नुहोस्:-