ह्युस्टन-अमेरिका, जनवरी १४/ मन परेका गायकले मन परेका गीत गाउँदा को होला ननाच्ने र गीत नगुन्गुनाउने? हो, ह्युस्टनका नेपालीहरु चर्चित गायक तथा संगीतकार कालि प्रसाद बास्कोटाको बेजोड् सांगीतिक प्रस्तुतिसंगै झुम्दै नाचे। एक घण्टा भन्दा कम समय मात्र आफ्नै म्यूजिकल ट्र्याकमा गाएका बास्कोटाले उनैले पहिलो पटक गाएको र निकै हिट गीत ‘जालमा’ शिर्षकमा ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ देखि ‘पुरानो डुंगाको ‘निर जहिले रिसाउने’ सम्मका लोकप्रिय गीतहरु गाएर ह्युस्टनका सबै उमेर समूहका नेपालीहरुको मन जिते।
नेपाली सिनेमा ‘घाम-पानीमा समेटिएको ‘पखेटा खोली उड्दै जाऊ’, ‘ग्यांग्स्टर ब्लुज’को निकै चर्चा पाइरहेको गीत ‘मनको हुन्न केही भर हैन र?’ गाएर युवा नेपाली दर्शकहरुलाई मन्च वरिपरि झुम्मिने बनाइराखे।बास्कोटा कै स्वर र संगीतमा सजिएको अर्को हिट गीत ‘ओडाउँला पिरतीको बर्को तिमीलाई, मेरै नामको सिन्दुरको धर्को तिमीलाई’, र ‘कबड्डी-कबड्डीको ‘लप्पन- छप्पन जान्दिन…‘ समेत गाउन भ्याए।
उनकै शब्द र संगीत अनि हेमन्त रानाको स्वरको अति चर्चित गीत ‘सुन साईंली….. चालिस कटेसी रमाउँला’ गीत गाउँदा एनएएचका अध्यक्ष विष्णु नेपाल देखि पूर्व अध्यक्ष मधुकर अमात्य, सल्लाहकार एवं पत्रकार तारा बराल समेत मन्च छेउमै पुगेर नाचिरहेका देखिन्थे।
ह्युस्टनका नेपालीहरुलाई मज्जाले नचाउन सक्षम कालि प्रसाद बास्कोटाको एकल सांगितिक प्रस्तुतिको आयोजना नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)ले खुकुरी इन्टरटेन्मन्टसंगको सहकार्यमा गरेको हो। जनवरी १२, शनिवारका दिन ह्युस्टनस्थित ताज हलमा आयोजित सांगीतिक कार्यक्रममा २०० बढी नेपाली गीत-संगीतका पारखीहरुको सहभागिता रहेको थियो। एनएएचका कार्यक्रमहरुमा निकै कम मात्र देखिने युवाहरुको सहभागिता यो पटक भने निकै देखिन्थ्यो।
कार्यक्रममा बास्कोटाको प्रस्तुति अगाडि बिमल भट्टचन लगाएतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिएका थिए।
कार्यक्रमबाट बचेको रकम ह्युस्टनस्थित नेपालीहरुको पशुपति मन्दिर परिसरमा सकर ग्राउण्ड बनाउन प्रयोग गरिने भनेर २० डलरको प्रवेश शुल्क राखिएको कार्यक्रममा सशुल्क खाना मात्र व्यवस्था भएकोमा भने कतिपय दर्शकहरुको गुनासो पनि सुनिन्थ्यो। २० डलर तिरेर पनि खानेकुरा किनेर खानुपर्ने गरि कार्यक्रम व्यवस्थापन हुनु जायज नभएको उनीहरुको तर्क थियो। अपेक्षाकृत सहभागी नआएकाले कार्यक्रमबाट उल्लेख्य बचत हुने संभावना निकै कम देखिएको छ। बिक्री भएको टिकटको एकिन संख्या आइनसकेकोले खर्च र आम्दानीको एकिन तथ्याँक आउन बाँकी रहेको एनएएचका अध्यक्ष विष्णु नेपालले दूरबिन नेपाललाई जानकारी गराएका छन्।
एनआरएनए टेक्सस च्याप्टरको सूचना डेस्क
यसैबीच कार्यक्रममा एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरले एनआरएनए सदस्यताको लागि प्रचार-प्रसार गर्न र सांगीतिक कार्यक्रममा सहभागी गैरआवासीय नेपालीहरुलाई सदस्य बन्न आव्हान गर्दै एक प्रचारात्मक डेस्क समेत राखेको थियो। च्याप्टरका उपाध्यक्ष द्रोण गौतम र बोर्ड अफ डिरेक्टर जगदिश काफ्लेको सक्रियतामा राखिएको सूचना डेस्कले यसअघि निकै कम मात्र एनआरएनए सदस्य भएको ह्युस्टनबाट गैरआवासीय नेपालीहरुलाई नयाँ सदस्यता लिन र नविकरण गर्न सघाउने अपेक्षा गरिएको छ।








तस्बिर: सुजन पण्डित/ दूरबिन नेपाल











प्रतिक्रिया लेख्नुहोस्:-