काठमाडाै । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल बुधवार सकिएको छ ।
विधानमा एक पटक तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि तीन महिनामा समेत अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो । थपिएको समयसिमा भित्रमा १४ जिल्लामा मात्र अधिवेशन भएकाले यही कार्यसमितिको म्याद फेरी थपिने संभावना न्युन रहेको नेताहरुले बताएका छन् ।
तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएकाले केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले यसअघि नै राजीनामा दिएका छन् । म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधवार देखि स्वतः सकिएको छ ।
संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेरपनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ । धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दावी छ ।
अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नु पर्ने भएकाले त्यसकाे नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् ।
त्यसैगरी सिटौला पक्षबाट बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ । त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेकोलगायतका अहिलेको नेतृत्वबाट हुन नसकेका कामहरु पनि नयाँ नेतृत्वको मुख्य जिम्मेबारी हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्:-