काठमाडौँ । नेपाली काँग्रेसले नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी मंगलवारकाे बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ काँग्रेस सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए । प्रमुख प्रतिपक्षी दलका सांसद सिंहले मन्त्रिपरिषद्मा प्रस्ताव भएका ११ वटा अस्पतालमध्ये नेपाली काँग्रेसका नेताका नाममा रहेका दुई वटा अस्पतालको विषयमा निर्णय नगरेकामा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले चार चार जना कम्युनिष्ट प्रधानमन्त्रीले जारी गर्न नसकेर संविधान सभा विघटन गरेकाे तिताे यथार्थ हुदाँ हुदै पछि संविधान जारी गर्ने प्रधानमन्रीकाे नाम किन हटाइयाे भन्दै प्रश्न गरेका थिए ।
सांसद सिंहले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घअन्तर्गत राख्नेगरी निर्णय भएको संसद्मा जानकारी नहुन्जेल काँग्रेसले संसद् चल्न नदिने अडान लिए । त्यस लगत्तै काँग्रेस सांसदहरुले रोस्टम घेराउ गरेका थिए ।
भिडियाेमा हेर्नुहाेस
सभामुख कृष्णबहादुर महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बैठक सञ्चालनमा सघाउन पटक पटक आग्रह गर्दा पनि काँग्रेसका सांसदहरु उठेर बैठक चल्न नदिएपछि सभामुख महराले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
त्यसपछि प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख महराले बैठकको कार्यसूचीमा रहेको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिन नभ्याउदै काँग्रेस सांसदहरू राेष्टम अगाडि पुगेका थिए ।
प्रमुख विपक्षी काँग्रेसले सरकारमाथि दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको भन्दै लगातार संसद् अवरुद्ध गरे । उनीहरूले राेष्टमतर्फ अगाडि जान लागेका शिक्षामन्त्री गिरिराजमणि पाेखरेललाइ राेकेका थिए ।
भिडियाेमा हेर्नुहाेस
काँगेस सांसदले नारावाजी नराेके पछि सभामुखले पुन बैठक स्थगन गरेका थिए । संसद् बैठकबाट बाहिरिँदै गर्दा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराईले संसद्मा मुठभेडको अवस्था आउन सक्ने देखिएकाले प्रधानमन्त्री नआउन्जेल संसद् बैठक स्थगित गरिनु उपयुक्त हुने प्रतिक्रिया दिए ।
यस्तै नेकपाका सांसद योगेश भट्टराईले बैठकमा सभामुखले मन्त्रीलाई विधेयक प्रस्तुत गर्न समय दिइरहँदा प्रमुख प्रतिपक्षी दलले तत्काल अवरोध पुर्याउन नहुने भन्दै प्रतिपक्षी दलको त्यस्तो व्यवहार उचित नभएको टिप्पणी गरे । प्रतिनिधिसभाको अर्को बैठक माघ ११ गते दिउँसो १ बजे बस्नेछ ।
राससकाे सहयाेगमा
–––







प्रतिक्रिया लेख्नुहोस्:-