काठमाडौँ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको जनाएको छ ।
बिहवार देखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले संविधानअनुसार प्रतिपक्षी दलको नेता परिषद्को सदस्य रहने र प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा परिषद्ले निर्णय गर्दा विधि र संस्कृति उल्लङ्घन भएको टिप्पणी गरे ।
संवैधानिक परिषद्को यही माघ ६ गते बसेको बैठकले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको थियो । बैठकमा पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले प्राप्त सुझावलाई मध्यनजर गरी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेका पाँच प्रतिवदेनका बारेमा समेत छलफल भएको शर्माले बताए ।
बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको विषयले प्रवेश पाएको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
यस्तै काँग्रेसले शुक्रवारकाे प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ। पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद काेइराला र सुशिल काेइरालाकाे नाममा रहेका अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै काँग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।
यस्तै काँगेसले सभामुख कृष्णबहादुर महराकाे भूमिकामा पनि प्रश्न उठाएकाे छ । सभामुख महराले स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप काम गर्न नसकेको आरोप काँग्रेसकाे छ । काँग्रेसले संसदीय अभ्यासमा सभामुख सत्तासामु निरिह भएको ठहर गरेकाे छ। मंगलबारको संसद बैठकमा सत्तापक्षीय सांसदले प्रतिपक्षी सांसदलाई मर्यादापालककै शैलीमा धकेलाधकेर गर्दासमेत सभामुख निरिह बनेको भन्दै काँगेसले आपत्ति जनाएकाे छ ।
फाेटाे रासस








प्रतिक्रिया लेख्नुहोस्:-