बद्रि गौतम, दूरबिन नेपाल जुन १६
यतिबेला पूर्वीय महाद्धिपमा मात्र होइन पश्चिमी गोलार्धमापनि धेरै चासो र सरोकारको रुपमा हेरिएको छ क्रिकेटको महाकुम्भ अर्थात आइसीसी विश्वकप २०१९ लाई । यतिबेलाको विश्वकपको महत्व किनपनि फरक छ भने क्रिकेटको मातृभुमिमै अर्थात इङ्ग्ल्याण्डमा विश्वकप मेला आयोजना भइरहेको छ । यो टिप्पणी तयार पारिञ्जेल कम्तीमा तीन खेल हरेक टोलीले खेलिसकेका छन । क्रिकेटकै मातृदेशमा भइरहेको यो महामेला यतिबेला खल्लोपनि महशुस भइरहेको छ, कारण मौसम । महत्वपुर्ण खेलहरु पानी परेका कारण भाग्यले निर्धारण गरेका छन ।
डि डब्ल्यु मेथड अर्थात डकवर्थ लेविस नियम
जसलाई भाग्यको नियमपनि भनिन्छ
बेलायती तथ्यांकशास्त्री फ्रान्क डर्कवर्थ र टोनि लेविसले तयार पारेको आधारमा नै यसलाइ डर्कवर्थ लेविस नियम भनिएको हो । डर्कवर्थ आर्थिक पत्रिकाका सम्पादक हुन भने लेविस तथ्यांक विषयका सह प्राध्यापक हुन । यो नियमलाई सन १९९६ देखि अवलम्बन गर्न थालिएको हो । सन २००४ केहि परिमार्जन गरियो भने सन २००९ देखि ट्वान्टी ट्वान्टी क्रिकेटमा पनि यो नियम लाग्न थाल्यो । विश्वकपमा भने पहिलो पटक सन १९९९मा इङ्ग्ल्याण्डमा भएकोे आइसीसी विश्वकपमा यो नियम प्रयोगमा ल्याइएको थियो । अहिले आइसीसीको आधिकारीक नियम नै बनेको छ ।
डर्कवर्थ लेविस नियम सिमित ओभरको क्रिकेटमा मात्र धेरै लागु हुन्छ । जस्तो एकदीवसीय अर्थात ५० ओभरको खेल वा ट्वान्टी ट्वान्टी क्रिकेटमा । सिमित ओभरको खेललाई परिणाममुखी बनाउन यो नियमलाई स्वीकार गरिएको हो । जब खेल कुनै कारणले विचमै रोकिन्छ । अर्थात पानी परेर रोकिन्छ तव नतिजा दिनको लागि डी डब्ल्यु नियम अबलम्बन गरिन्छ । खेल रोकिने बेलामा कुन टोलीको के अवस्था थियो ? टोलीको लक्ष्य अनुसार हिसाब गरी सोही आधारमा औषत निकालेर परिणाम दिने काम नै डकवर्थ लेविसको नियमले गर्छ । यो नियममा लक्ष्य प्राप्तिको लागि ब्याटीङ गरिरहेको टोलीको अवस्थालाई धेरै आधार मानिन्छ । यसमा सामान्यतयाः दुइवटा कुरालाई आधार मानिन्छ । ब्याटीङ गरिरहेको टोलीको हातमा कति विकेट बाँकी छ ? अनि सो टोलीले कति ओभर खेलिसकेको छ ? यसमा टेकेर क्याल्कुलेसन गरिन्छ । अर्को तर्फ पहिलो इनिङमा विचमै खेल रोकियो भने त्यो बेला टोली कस्तो अवस्थामा खेलिरहेको थियो भन्ने आधारमा दोस्रो टोलीले लक्ष्य पाउछ ।
डकवर्थ र लुविस जसले एउटा सूची तयार पारेका छन त्यसको आधारमा हिसाब गरिन्छ । यहि सूचीका आधारमा परिणाम निकाल्ने वा लक्ष्य दिने गरिन्छ ।
मानौं कि ब्याटीङ गरिरहेको टोलीसंग १० विकेट बाँकी छ । ओभर २५ बाँकी छ । यस्तो अवस्थामा लक्ष्य प्राप्तिको लागि ब्याटीङ टोलीले आक्रामक ब्याटीङ गर्छ भन्ने परिकल्पना गरिन्छ । त्यस्तै दोस्रो इनिङ शुरु हुनुभन्दा पहिले ब्याटीङ गर्ने टोलीका हातमा ५० ओभर हुन्छ भने विकेटपनि दश नै हुन्छ । यस्तो अवस्थामा सो टोलीसंग लक्ष्य भेटाउन साधन सत प्रतिशत हुन्छ भन्ने अनुमान गरिन्छ । जब खेल खेल्दै जान्छ अनि ओभर र विकेटपनि घट्दै जांदा उसको लक्ष्य भट्ने साधन वा सम्भावनाको प्रतिशतपनि कम नै हुन्छ । उदाहरणको लागि यदि ब्याटीङ गरिरहेको टोलीले ३० ओभर खेली सक्दा पानी परेर खेल रोकियो सो अवस्थामा सो टोली पाँच विकेटको क्षतिको अवस्थामा छ भने डकवर्थ लेविसको नियमानुसार ४० प्रतिशत साधन यसले उपयोग गर्न सक्छ भन्ने आधारमा क्याल्कुलेसन गरिन्छ । अर्थात खेल रोकिनु भन्दा अघिको अवस्था के थियो ? कति ओभर र कति विकेटको अवस्थामा हुंदा खेल रोकियो ? खेल कति समयसम्म रोकियो ? सो समयसम्ममा कति ओभर खेल हुनु पथ्र्यो ? सोही आधारमा क्याल्कुलेसन निकाली लक्ष्य निर्धारण गरिन्छ । मानौं खेल रोकिंदा २५ ओभर बांकी थियो भने दुइ विकेटको नोक्सानीमा थियो । खेल राकियो, रोकिएको समयमा पांच ओभर खेल हुन्थ्यो । यस्तो अवस्थामा खेललाई पांच ओभर छोट्याइन्छ । २० ओभरमात्र खेलाइन्छ । अनि ब्याटीङ टोलीसंग ५४ प्रतिशत साधन हुन्छ भन्ने अनुमान गरिन्छ । यो हिसाब गर्दा डकवर्थ र लुइसले बनाइएको सूचीलाई नै आधार मानिन्छ ।
मानौं पहिलो इनिङमा ५० ओभरमा २५० रन बनेको थियो । दोस्रो इनिङ ब्याटिङ गरीरहंदा ४० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९९ रन बनेको अवस्थामा खेल रोकियो । अब खेल हुन नसक्ने भयो । यस्तो अवस्थामा डकवर्थ लेविसको नियम उपयोग गरिन्छ । नियम अनुसार पुरै ओभर खेल्नु भनेको पुरै साधन उपयोग गर्न हो । पहिलो टोलीले सत प्रतिशत साधन उपयोग गरी २५० रन बनाएको थियो ।
तर दोस्रो टोलीले ४० ओभर खेल्दा पाँच विकेट गुमाएको थियो अर्थात डर्कवर्थ लेविसको सूची अनुसार यस्तो अवस्थामा २७ दशमलव पाँच प्रतिशत साधन खर्च गरेको छैन । सोही कारण सो टोलीले खर्चेको छ ७२ दशमलव पाँच प्रतिशत साधन । पहिलो टोलीले पुरै साधन खर्चेर बनाएको छ २ सय ५० रन अर्थात दोस्रो टोलीको लक्ष्य निकालिन्छ यसरी
२५०˟७२.५÷१००=१८१.२५
अर्थात दोस्रो पारीमा खेल्ने टोलीले एक सय ८२ रन बनाउनु पर्ने थियो तर सो टोलीले पहिल्यै एक सय ९९ रन बनाइसकेको छ । यसकारण दोस्रो टोलीलाई १८ रनले जितेको घोषणा गरिन्छ । त्यस्तै अर्को उदाहरण अनुसारः पहिलो पारीमा व्याटीङ गरिरहेको बेला खेल रोकियो । मानौं ४० ओभरमा सात विकेटको क्षतिमा खेल रोकिंदा एक सय ९० रन बनेको थियो । तर खेल अगाढी बढ्न सकेन । इनिङ समाप्तिको घोषणा भयो । तर दोस्रो पारीमा ब्याटिङ गर्नेलाई ४० ओभर नै दिइन्छ तर लक्ष्य भने बढाइन्छ । डर्कवर्थ लेविसको सूची अनुसार पहिलो पारी खेल्दै गर्दा सत प्रतिशत साधनको उपयोग गर्न सकेन । सूची अनुसार पहिलो टोलीले जम्मा ७९ दशमलव चार प्रतिशत साधन उपयोग गर्यो । दोस्रो पारीलाई पनि ४० ओभर खेलाउंदा दश ओभरको नोक्सान त हुन्छ तर उ संग विकेट हातमा हुन्छ । यसकारण दोस्रो टोलीको साधन १० दशमलव नौ प्रतिशत धेरै हुन्छ । सोहि आधारमा लक्ष्यपनि बढाइन्छ । यदि सो टोलीले ५० ओभर नै ब्याटीङ गरेको भए उसको स्कोर हुन्थ्यो दुइ सय ३५ रन । पुरै विकेट हातमा भएको आधारमा दोस्रो टोलीलाई दश दशमलव नौ प्रतिशत धेरै साधन भएको मानिन्छ र प्रतिशत निकालिन्छ ।
२३५˟१०.९ =२१.५५ रन
यो रनलाई पहिलेको टोलीले बनाएको रनसंग जोडिन्छ ।
पहिलो टोलीले बनाएको रन १९० हो
१९०+२१.५५ =२११.५ रन अर्थात २१२ रन नयां लक्ष्य हुन आउंछ ।
दोस्रो टोलीले ४० ओभरमा दुइ सय १२ रन बनाउनु पर्ने हुन्छ ।
तर यो नियम आलोचना मुक्त भने छैन । कहिलेकाहिं क्रिकेट खेलको नतिजा अन्तिम बललेपनि दिंदैन । त्यस्तो बेला सुपर ओभर जस्ता नियम अवलम्बन गरिन्छ । सो बेला क्रिकेटको वास्तविक आनन्द आउंछ । तर कहिलेकाही खेल रोमाञ्चक मोडमा पुगेको बेला फ्याट्ट पानी पर्दिन्छ । अनि लागु हुन्छ डि डब्ल्यु मेथड अर्थात डकवर्थ लेविस नियम । यसले खेलको रोमाञ्चकतालाई कमजोर पारीरहेको महशुष धेरैले गरिरहेका छन । अझ कतिपयलाई यो नियम बुझनपनि अप्ठेरो छ ।
आइसीसी र एजेन्सीको सहयोगमा











प्रतिक्रिया लेख्नुहोस्:-