दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसबाट अत्यधिक प्रभवित क्षेत्र न्युयोर्कमा एकैदिन सात सय ९९ जनाको ज्यान गएको छ । न्युयोर्कका गभर्नर एण्ड्रु कुमोले जनाए अनुसार पछिल्लो २४ घण्टामा झण्डै आठ सयको ज्यान गएको हो । उनका अनुसार मृत्यु भएकाहरुमा अत्यधिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेका छन । यो समाचार तयार पार्दासम्म न्युयोर्कमा सात हजार ६७ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ । अहिलेसम्म मृत्यु हुनेमा ल्याटीनो र अफ्रिकन मुलका मानिसहरु धेरै रहेका छन । गभर्नर कुमोले विहिवारको नियमित प्रेस मिटमा जनाए अनुसार अस्पताल भर्ना हुनेको संख्यामा भने विस्तारै कमी आइरहेको छ । तर नयाँ संक्रमितहरुको संख्यामा भने खासै कमी देखिएको छैन । कुमोका अनुसार अस्पताल भर्ना हुनेको संख्या १८ हजार दुई सय ७९ रहेको छ भने आइसीयुमा चार हजार नौ सय २५ बिरामीहरु छन । न्युयोर्कमा अहिलेसम्म ३ लाख ९१ हजार ५ सय ४९ जनामा कोरोना भाइरसको परिक्षण भइसकेको छ भने जसमध्ये एक लाख ५९ हजार ९ सय ३७ जनामा संक्रमण देखिएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ हेल्थका अनुसार बुधबारमात्र २६ हजार ९ सय ३६ जनामा परिक्षण भएकोमा दशहजार ६सय २१ जनामा संक्रमण देखिएको छ । न्युयोर्कमा बुधवार मृतक र संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । न्युयोर्कको सबैभन्दा प्रभावित क्षेत्र न्युयोर्क सीटी रहेको छ । सीटी क्षेत्रमापनि क्वीन्स क्षेत्र नराम्ररी प्रभावित छ । जहां धेरै नेपालीहरुको बसोबास रहेको छ । क्वीन्सको पनि कोरोना, एल्महस्र्ट र ज्याक्सन हाईट्स क्षेत्रमा संक्रमितहरु र मृतकको संख्या धेरै छ । न्युयोर्कको क्वीन्स काउन्टीमा २७ हजार ७ सय ५२ जना भन्दा धेरैमा संक्रमण देखिएको छ । त्यसैगरी किङ्ग्स काउन्टीमा २३ हजार ३ सय ९४ जना संक्रमित रहेका छन । त्यसैगरी ब्रङ्रसमा १७ हजार ७ सय ९२ जना बिरामी रहेका छन । नासाउ काउन्टीमा २० हजार १ सय ४० जना र म्यानहाटनमा १२ हजार एक सय ६ जना संक्रमित रहेका छन । न्युयोर्ककको सुफोल्क र वेचेस्टरमा १७ हजार भन्दा धेरै बिरामीहरु पुष्टि भइसकेको न्युयोर्कको डिपमार्टमेन्ट अफ हेल्थ ले जनाएको छ ।
न्युयोर्कमा कोभिड १९ को पहिलो बिरामी ३९ दिन अघि भेटिएका थिए । तर यो अवधिमा न्युयोर्कको अवस्था लागातार खराव बन्दै गइरेहेको छ । त्यसैगरी न्युयोर्कलाई पज गरिएको अथवा अत्यावस्यक बाहेक सबै क्षेत्र बन्द गरिएको पनि १८ दिन वितिसकेको छ । अमेरिकामा जनवरी २० मा अर्थात ८० दिन पहिले पहिलो कोरोनाको बिरामी भेटिएका थिए । अहिले न्युयोर्क सहित अधिकांश अमेरीकी राज्यहरु कोरोनाका कारण प्रभवित बनेका छन । अमेरिकामा विहिवार दिउसो सम्मको तथ्यांक अनुसार ४ लाख ५५ हजार भन्दा धेरै संक्रमितहरु देखिएका छन भने मृतकको संख्यापनि सबैभन्दा उच्च १६ हजार एक सय भन्दा धेरै रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-