काठमाडौं । सत्तारूढ गठबन्धनका नेता सम्मिलित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ ।
तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा भएको सहमतिबारे जानकारी दिँदै उनले भने, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत रहेका छन् । अरु थप विषयमा छलफल र निर्णयको लागि पर्सि माघ ६ गते पुनः गठबन्धन समन्वय समितिको बैठक बस्नेछ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।
अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-