काठमाडौं । नेपाली काँग्रेस भित्र मौलाएको चरम विवाद सल्टाउन शिर्ष तहका नेताहरु बल्ल आमने सामने भएका छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन छल्न खोजेको, आगामी कार्यकालमा जसरी पनि नेतृत्वमा आउनका लागि ‘कब्जा’ गर्ने गरि रणनीति अनुसार विभागको संख्या बढाउन लागेको आशंका गर्दै सस्थापन इतर समुहले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्दै आएको थियो ।
आफु इतरको समुहको बहिस्कारका बीच पनि देउवाले बहुमतको आधारमा केन्द्रिय समिति बैठकबाट महाधिवेशन र विभाग गठनका बारेमा निर्णय गराएका थिए । एकले अर्को पक्षलाई ‘बहिस्कार’ सम्म उत्रिएका शिर्ष नेतृत्व बुधवार देखि छलफलमा जुटेका हुन् ।
आफ्नै निवास बुढानिलकण्ठमा बुधबार पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । नेता पौडेलका अनुसार छलफलमा उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशमान सिंहले कार्यदल स्तरमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।
ब्रिफिङ्ग पछि सामान्य छलफल भएको तर कुनै निष्कर्षमा नपुगिएको नेता पौडेलले बताए । विविद समाधानका लागि शुक्रवार पुन बैठक बस्ने सहमति भएको छ ।
सस्थापन इतर पक्षले १४औं महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यतामा विधान मिच्ने गरि भएका निर्णय उल्टाउनु पर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-