दूरबिन नेपाल, अमेरिका
तुलसीदास विरचित श्रीरामचरितमानसको नेपाली भाषामा गरिएको छायाँ अनुवाद सहितको कृतिको लोकार्पण गरिएको छ । तुलसीराम शर्माद्वारा गरिएको अनुवाद कृतिको अमेरिकाको टेक्ससस्थित डालसमा एक समारोहकाविच वरिष्ठ पत्रकार, साहित्यकार एवं प्राध्यापक पूरुषोत्तम दाहालले लोकार्पण गरेका हुन । दाहालको प्रमुख आतिथ्यता र वासुदेव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकका अनुवादक तुलसीराम शर्माले पूर्वीय दर्शन, धर्म र संस्कृतिका विषयमा चर्चा गर्दै पुस्तकबारे जानकारी गराएका थिए । डा शेखर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकबारे आचार्य मेघराज निरौला, आचार्य चन्द्रकान्त शास्त्री, एनएसटीका अध्यक्ष दिनेश शर्मा, एनसीएससीका पूर्व अध्यक्ष रमेश पोख्रेल, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष कपिल अधिकारी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वासु शर्माले ग्रन्थ सफलताको कामना गरेका थिए । कवि भगवती पौडेलको कविता वाचन र भागवत वाचिका विदुषी विमला ओलीले आफ्नो सुमधुर आवाजमा नेपाली रामचरितमानस गाएर सुनाएकी थिइन । लता प्रधानको भजन र पण्डितजीहरुको मंगलाचरणले पशुपतिनाथ बौद्ध मन्दिर गुन्जायमान भएको थियो । प्रमुख अतिथि तथा प्राध्यापक पुरुषोत्तम दाहालले अवधि भाषा नवुझ्ने नेपाली भाषीका लागि कृति अति नै पठनीय र सङ्ग्रहणीय रहेको बताए । गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेको विश्वकै सुन्दरतम काव्य श्रीरामचरितमानसको आचार्य तुलसीरामद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूदित नेपाली रामचरितमानस थोरै समयमा नै नेपालीभाषीलाई आकर्षित गर्न सफल भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-