काठमाडौँ । नेपाली काँग्रेसकाे जारी केन्द्रीय समितिकाे बैठकले नेपाल विद्यार्थी संघकाे तदर्थ समिति बनाउने जिम्मा पार्टी सभापति देउवालाई सुम्पिएकाे छ ।
पार्टी मुख्यालयमा बुधवार बसेकाे बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सघकाे केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो । गत माघ २ गते कार्यकाल समाप्त भएसँगै नेविसंघ केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । संघका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए र सोही दिन उनकाे राजीनामा स्वीकृत भएको थियो ।
काँग्रेसकाे बैठकले बुधवार पनि पार्टीकाे विधान मस्याैदा निर्णय दिन सकेन । केन्द्रीय कार्यसमितिका नेता पार्टीकाे वडा तहबाट निर्वाचित भएर आउनु पर्ने भन्दै महासमिति बैठकले दिएकाे सुझाव र प्रतिवद्धताबाट नेतृत्वले खुट्टा कमाउदा बैठक लम्बिएकाे छ ।
बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसकाे महासमिति बैठक गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।
बैठकमा बुधवार केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखे । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।








प्रतिक्रिया लेख्नुहोस्:-