न्यु योर्क ।
अमेरिकामा रहेका नेपाली समुदायमा सबै भन्दा सङ्गठित र बलियो मानिएको शेर्पा समुदायमा पनि विवादको बाछिटाले छोएको छ । शेर्पा किदुग अमेरिकाको हालै सम्पन्न निर्वाचन प्रति असहमति जनाउँदै, शपथ ग्रहण अगाडि नै दुई जना सदस्यले राजीनामा दिएका छन् ।
अमेरिकामा सयौँको सङ्ख्यामा नेपालीहरूको सङ्गठन छन् । राजनीतिक दलको भातृ सङ्गठन देखि जातिवादी र क्षेत्रीय संस्था क्रियाशील छन् । कतिपय एउटै जातिको तीन – तीन वटा सम्म संस्था सम्म छन् । नेपालीहरूको संस्था कुनै न कुनै रूपमा विवादित बन्दै गर्दा शेर्पा किदुग भने अपवाद रहँदै आएको थियो । आर्थिक रुपमा सबल, सङ्गठित र अनुशासित संस्थामा शेर्पा किदुग उदारणिय नै बनेको थियो । संस्थामा आउने सामान्य मतभेद आपसमा नै सल्टाउने गरेका थिए । जसका कारण सरकारी निकायले पनि शेर्पा किदुगलाई अन्य नेपाली संस्था भन्दा बढी महत्त्व दिँदै आएको छ ।
अन्य समुदाय सामुदायिक भवनको जोहोमा वर्षों देखि लागि रहँदै गर्दा शेर्पा किदुगले भने ज्याक्सन हाईटको अति व्यस्त क्षेत्रमा गुम्बा नै स्थापना गरेको छ । तर यस पटक नयाँ कार्यसमिति चयन विवादित बन्यो । कार्यसमिति चयन प्रति अशनतुष्टि जनाउँदै शपथ ग्रहणको अधिल्लो दिन दुई जनाले राजीनामा दिएका छन् । नव निर्वाचित कार्यसमितिको शुक्रवार साँझ शपथ ग्रहण कार्यक्रम राखिएको छ । शेर्पा किदुगका एक सदस्यका अनुसार फेब्रुअरी दुई तारिकका दिन भएको अधिवेशन आर्थिक विषयलाई लिएर तनावपूर्ण बनेको थियो । हरहिसाव पारदर्शी नभएको तथा आर्थिक प्रतिवेदन साधारण सभाबाट पारित नै नगराई ट्याक्स फाइल गरेको भन्दै अधिवेशनका सहभागीले विरोध गरेका थिए । सहभगिको चर्को विरोधलाई साम्य पार्न हम्मे हम्मे परेको थियो ।

निवर्तमान महासचिव आङजांबु शेर्पा भन्छन् “पहिला सहमतिमा नै हुन्थ्यो । चुनावी प्रतिस्पर्धाले ठुलो मतभेद बढ्यो । उर्गेन जी पुन उठेपछि समस्या भयो । साथीहरूले राजीनामा दिनु भएछ । यो संस्थाका लागि राम्रो भएन”
ठुला दाता मध्येका एक ओभरसियर जांवु शेर्पाले राजीनामा दिएको कुरालाई स्वीकार गरेका छन् । दूरबिन नेपालसँगको छोटो कुराकानीमा जांबु शेर्पाले भने “हो मैले राजीनामा दिए । तपाइहरूले बाहिर सुनेका कुरा सही नै छ । तर म राजीनामाको कारण बारेमा थप बोल्न चाहन्न ।”
याङचेन डोल्मा शेर्पा पनि शपथ निलिने सम्भावना छ । ‘गुम्बा किदुङ भित्र राजनीति भइरहेको र यसले आफूलाई घृणा जागेको’ उल्लेख गर्दै शुक्रवारको शपथमा भाग नलिने जानकारी गराइसकेकी छन् ।
शेर्पा किदुगको विधान अनुसार अधिवेशनबाट सुरुमा ११ जना सदस्य निर्वाचित हुन्छन् । सोही ११ जना सदस्य मध्येबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायत पदहरू चुन्ने गर्दछ। कार्यसमितिका लागि ११ जनानै निर्विरोध भएका थिए । यस अधि शेर्पा किदुगको चुनाव खासै प्रतिस्पर्धा नहुने हुनाले कार्य समितिमा बसी दिनुस् भन्दै मान्छे खोज्नु पर्ने अवस्था थियो ।
फाेटाे : शेर्पा एशाेशियशनकाे फेशबुकबाट







प्रतिक्रिया लेख्नुहोस्:-