दूरबिन नेपाल, नेभाडा, अमेरिका –
डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनमा सिनेटर बर्नी सेण्डर्सको विजय यात्रा कायमै रहेको छ । नाभाडा ककस अर्थात नेभाडामा भएको डेमोक्रयाटीक पार्टीको उमेदवार छनौटको निर्वाचन समाजवादी अभियन्ता तथा सिनेटर बर्नी सेण्डर्सले भारी अन्तरले जित्ने दखिएको छ । प्रारम्भिक मत परिणाम अनुसार बर्नीले आफ्ना निकटतम प्रतिष्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेन भन्दा धेरै प्रतिशतले अघि देखिएका छन ।
नेभाडाको निर्वाचनमा अन्य उमेदवारको अवस्था झन कमजोर देखियो । पहिलो पटक डेमोक्रयाटीक पार्टीको डिवेटमा सामेर भएका अमेरिकी खर्बपति माइकल ब्लुमबर्ग नेभाडाको प्रतिष्पर्धामा सामेल छैनन । युवा उमेदवार तथा इण्डियाना राज्यका पूर्व मेयर पिट बुटीजजको पनि कुनै जादु देखिएन न त सिनेटर एलिजावेथ वारेनको कुनै प्रभाव देखियो । नेभाडाको निर्वचनमा यो समाचार तयार पार्दा सम्म बर्नीले ४६ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका छन भने जो बाइडेनले २३ दशमलव आठ प्रतिशत मत प्राप्त गरेका छन । प्रतिष्पर्धामा तेस्रो देखिएका पिट बुटीजजले १३ दशमलव ६ र एलिजावेथ वारेनले आठ दशमलव ७ प्रतिशत मत देखिएको छ ।
यस अघि भएको निर्वाचनमा सेण्डर्स र बुटीजजको प्रतिष्पर्धा निकै देखिएको थियो । तर नेभाडाको नतिजाले सेण्डर्सको आकर्षण बढेको अनुमान गरिएको छ । नेभाडाको नतिजामा लगभग जित देखिएपछि उत्साहित भएका सेण्डर्सले टेक्ससमा सम्बोधन गर्दै डेमोक्रयाटीक पार्टी भित्रको मात्र होइन डोनल्ड ट्रम्प विरुद्धको निर्वाचन पनि आफुले जित्ने दावी गरेका छन । डेमोक्रयाटीक पार्टीको आन्तरिक प्रतिष्पर्धामा बर्नीको आकर्षण बढेसंगै अव वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिष्पर्धीमा हेरिन थालेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-