दूरबिन नेपाल, न्युयोर्क
अमेरिकामा कोरोना भाइरसबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । अमेरिकाको वशिङ्गटन राज्यमा ५० बर्षीय एक व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको सो राज्यले पुष्टि गरेको छ । कोरोना भाइरसबाट राज्यवासीको मृत्यु भएपछि सो राज्यमा संकटकाल लगाइएको छ । वशिङ्गटन राज्यका स्वास्थ्य अधिकारीहरुका अनुसार सो राज्यको लाइफ केयर अस्पतालमा २७ जना बिरामी र काम गर्ने २५ जनामा पनि कोरोना भाइरसकै जस्तो लक्षण देखिएकोले अनुसन्धान भइरहेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले दिउसो ह्वाइट हाउसमा प्रत्रकार सम्मेलनमा भने कोरोनाबाट सो राज्यमा मृत्यु हुने एक ५० बर्षीय महिला भएको बताएका थिए । एक जनाको मृत्यु भएपनि अमेरिकामा कोरोनाको त्रासदी अन्य स्थानको भन्दा कम रहेको ट्रम्पको दावी छ । राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै अहिले सम्म अमेरिकामा २२ जनामात्र कोराना भाइरसबाट संक्रमित भएको र त्यसमा १५जना निको हुने अवस्थामा पुगिसकेको जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पले सो तथ्यांक दिएपनि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले भने कम्तीमा ५९ जना अमेरिकीमा नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित भएको बताएको थियो । यद्यपि अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको कारण आतंकित नहुन आग्रह गरेका छन ।
अनावस्यक फेस मास्क भण्डारण नगर्न आग्रह
अमेरिकी स्वास्थ्य अधिकारीहरुले फेस मास्क किनेर स्टक नराख्न आग्रह गरेका छन । अमेरिकामा यथेष्ट फेस मास्क उपलव्ध हुने र यसको लागि सरकारले पनि तयारी गरेको कारण अनावस्यक फेस मास्क स्टक नराख्न आग्रह गरिएको हो । भएका फेस मास्कहरु विशेषगरी स्वास्थ्यकर्मीहरुलाई धेरै आवस्यक पर्ने हुंदा उनीहरुलाई प्राथमिता दिन भनीएको हो ।
कोरोनाका कारण थप मुलकमा यात्रा प्रतिबन्ध
उपराष्ट्रपति माइक पेन्सले पत्रकार सम्मेलनमा कोरोना भाइरसबाट प्रभावित मुलकको यात्रा नगर्न आग्रह गरेका छन । उनले पत्रकार सम्मेलनमा इटली र दक्षिण कोरियाका केही क्षेत्र, चीन र इरानको भ्र्रमणमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन । त्यसैगरी युनिभर्सीटी अफ कनेक्टीकटले इटलीमा पढ्न गएका आफ्ना विद्यार्थीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । स्टडी अब्रोड अन्तर्गत इटली गएका ८८ जना विद्यार्थीलाई फिर्ता बोलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।
यसैगरी कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको चीनको वुहान प्रान्तमा संक्रमितको प्रतिशत कम हुंदै गएको बताइएको छ । तर केही निको भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण झण्डै तीन हजारको ज्यान गइसकेको छ भने झण्डै ९० हजार व्यक्ति यसको संक्रमणमा परेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-