काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले जित निकालेको हो ।
नेदरल्यान्ड्सलाई जितका निम्ति अन्तिम दुई ओभरमा १९ रन आवश्यक थियो । १९औँ ओभरको पहिलो बलमा कुशल मल्लले साइब्रान्ड एन्गलब्रेटलाई सन्दीप जोराबाट क्याच गराउँदै खेलमा फर्कने नेपालको आस जगाएका थिए । उनले दोस्रो बलमा छक्का खाए । कुशलले तेस्रो बलमा एक रन मात्र दिए । चौथो बलमा पुनः तेजा निदामनुरुलाई कुशलले सन्दीप जोराबाट नै क्याच गराएपछि नेदरल्यान्ड्सलाई जितका निम्ति आठ बलमा १२ रन आवश्यक थियो । पाँचौँ बलमा कुशलले पुनः एक रन मात्र खर्चिए । छैटौँ बलमा टिम भान डेर गुग्टेनले चौका प्रहार गरेपछि डच टोलीलाई जितका निम्ति अन्तिम ओभरमा सात रन आवश्यक थियो ।
अन्तिम ओभर बलिङका लागि नेपालका कप्तान रोहितकुमार पौडेलले करण केसीलाई जिम्मेवारी सुम्पिए । करणले पहिलो बलमा एक रन मात्र दिए । दोस्रो बल गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्स जितनजिक पुगेको थियो । तेस्रो बलमा पनि गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्सले घरेलु समर्थकमाझ शृंखलाको उपाधि जित्यो ।
प्रतिक्रिया लेख्नुहोस्:-