प्रा. डा. दुर्गा दाहाल
अमेरिकामा पनि अब ‘सानो नेपाल’ भयो । केवल नेपाल र त्यहाँ भएका नेपालीहरूलाई मात्रै नसोची अमेरिकामै भएका हामी नेपाली र यहाँ जन्मिएका, हुर्किएका सन्ततिहरूका बारेमा पनि सोच्नु पर्छ ।
अब प्रतिबन्धित अवस्था पनि छैन । झोले युग पनि समाप्त भई सकेको छ । पुराना स्कूलहरूबाट प्रशिक्षित नेताहरूबाट राष्ट्रविकास पनि संभव छैन । नेतृत्व पुस्तान्तरण हुनु पनि ज़रूरी छ । नयाँ सोच, चिन्तन, लगाव, विचार, ज्ञान र प्रविधिहरूबाट सज्जित नयाँ नेतृत्व आउनु ज़रूरी छ घरदेश र परदेशमा पनि । अत: अमेरिकामा जनसम्पर्कको भूमिका र औचित्यको बारेमा पुनर्विचार हुनु ज़रूरी छ ।
अमेरिकामा रहे बसेपछि यहीँको मूलप्रवाहमा बग्दै जानु मनासिव हो तर हामीले हाम्रो जरोभूमि नेपाललाई पनि कदापि बिर्सनु हुन्न । नेपालको राजनीति लगायत सबै नीतिहरूमा चासो राख्नु पर्छ, चिन्तन गर्नु पर्छ । साथै, अमेरिकाको मूलप्रवाहमा नेपाली मूलका प्रतिनिधिहरूलाई पठाउन सक्नु पर्छ । हेरी भण्डारी पहिलो नेपाली प्रतिनिधिका रूपमा मेरिल्याण्ड राज्यमा जानु सुखद अनुभूति हो । अन्यहरू पनि क्रमश: जानु पर्छ ।
नेपालका पुराना नेताहरूको पिछलग्गू बनेर अब काम छैन । उनीहरूलाई सम्मान दिनु पर्छ तर नेतृत्व दिनु हुँदैन । आश गर्छन नेतृत्वमा जाने तर कार्यकुशलता छैन । त्यसैले अब हामी राजनैतिक दल र नेताहरूको शुभेच्छुक संस्था भएर बस्नु पर्छ । उनीहरूको भक्त भएर हैन, शुभचिन्तक भएर बस्नु पर्छ ।नयाँ नेतृत्वलाई उत्प्रेरणा दिनु पर्छ । हामीले अथवा जन सम्पर्क समितिले यहाँबाट शुभेच्छुक संस्थाको हैसियतले साथ, सहयोग र समर्थन दिनु पर्छ । सबै नेताहरूलाई सम्मान र आदर गर्नु पर्छ तर उनीहरूको आदेशलाई मान्नै पर्छ भन्ने ज़रूरी छैन । हाम्रो विमति वा असहमति हुन सक्छ ।
हामी अमेरिकामा छौँ । अत: अमेरिकाको नीति- नियम र कानूनलाई मानेर हामी हिंडनु पर्छ । साथै, हामीले दास मनोवृत्ति त्यागेर आफ्नो ब्रह्म र विवेकलाई पनि सोध्नु पर्छ अब हामीले के गर्ने भनेर !
सबैले सबैबेला राजनीतिनै गर्नु पर्छ भन्ने पनि छैन । सक्छौं भने यहाँको राजनीति गरौँ । सक्दैनौँ भने समाजसेवा अथवा सामुदायिक सेवा गरौँ । राजनीतिनै गर्नु छ भने नेपाल गएर शुद्ध राजनीति गरौँ ।
राजनीति भनेको समाज सेवा हो; व्यापार वा गुटबन्दी हैन । समाज वा समुदायमा भएका व्यक्ति हरूलाई संगठित गरि शान्ति र समृद्धितिर उन्मुख हुनु हो ।







प्रतिक्रिया लेख्नुहोस्:-