दूरबिन संवाददाता, अमेरिका । २२ मार्च २०२० –
अर्थतन्त्र र सेयर बजारको विश्वकै राजधानी मानिने न्यूयोर्क अहिले विश्वमै कोरोना भाइरसको सर्वाधिक संक्रमित सहर बन्न पुगेको छ । न्यूयोर्कमा पछिल्ला दुई दिनमा ६ हजार कोरोना संक्रमित फेला पर्दा कुल संक्रमित संख्या १६ हजार नाघेको केही सन्चार संस्थाहरूले जनाएकाछन् । यही भाइरसका कारण मृत्यु हुनेको संख्या पनि दुई गुणा बढेको छ । आइतबार दिउँसोसम्म न्यूयोर्क सहरमा नै १ सय १५ जनाको ज्यान गएको छ ।
न्यूयोर्क राज्य सरकारको आधिकारिक वेबसाइटमा भने मृत्यु हुने र संक्रमित हुनेको संख्या केही कम देखिन्छ । न्यूयोर्क राज्यमा ६२ हजारमा गरिएको परीक्षणबाट १५ हजार ६८ जनामा संक्रमण फेला परेको हो । कतिपय पछिल्ला परिक्षण नतिजाहरू यसमा समावेश छैनन् । जसका कारण समाचारहरूमा बाहिर आएको तथ्याङ्क र न्युयोर्क राज्यको वेबसाइटमा राखिएको तथ्याङ्कमा सानो अन्तर देखिएको छ । अमेरिकाका प्रभावशाली पत्रिका र अनलाइनहरूले न्युयोर्क विश्वमै सवै भन्दा द्रुत गतिमा कोरोना संक्रमित सहर वन्न पुगेको जनाएका छन् । कोरोना भाइरसका बारेमा न्यूयोर्क टाइम्सले सार्वजनिक तथ्याङ्कहरूलाई तुलना गर्दै न्यूयोर्कमा विश्व कै ५ प्रतिशत भन्दा बढि कोरोना संक्रमित रहेको समाचार प्रकाशित गरेका छ ।
न्युयोर्कको छिमेकी राज्य न्युजर्सीमा समेत कोरोना भाइरसले मृत्यु र संक्रमित हुनेहरुको संख्या वृद्धि भएको छ । न्यु जर्सीका २१ वटा काउन्टीमा फैलिएको कोरोना भाइरसले २० जनाको ज्यान लिइसकेको छ भने करिव २ हजार संक्रमित भएका छन् ।
अमेरिकामा सबै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । न्युयोर्कमा कोरोना संक्रमण भयावह रुपमा बढे पछि अहिले वासिङ्टन दोस्रो बढि प्रभावित राज्य बन्न पुगेको छ । तेस्रो बढि संक्रमित राज्यको रुपमा रहेको क्यालिफोर्नियामा २९ जनाले ज्यान गुमाउनुका साथै १६ सय संक्रमित पुष्टि भएको छ । जर्जिया चौथो बढि प्रभावित राज्य बन्न पुगेका छ । जर्जियामा २३ जनाको मृत्यु भइसकेको छ भने ६ सय भन्दा बढि संक्रमित देखिएका छन् ।
लुजियानामा २० जनाको मृत्यु भएको छ भने ८ सय भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । फ्लोरिडामा १३ जनाको ज्यान जानुको साथै ८ सय भन्दा बढिमा संक्रमण रहेको छ । मिचिगन राज्यमा एक हजार भन्दा बढिमा संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् । इलेनोइजमा ९ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
जनसंख्याको हिसाबले दोस्रो ठुलो राज्य टेक्सासमा ६ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ साथै ६ सय २० जना संक्रमित भएका छन् । ,कोलोराडो ६, अर्कन्सास ६, कनेटिकट ५ , इन्डियाना ५, मिजौरी ५, विसकन्सिन ४, पेन्सलभेनिया ४, वरेगनमा ४, मेरिल्याण्ड ३ , ओहायो ३,साउथ क्यारोलिना ३, भर्जिनिया ३, केन्टकी ३, नेभाडा २, एरिजोना २, भेरमोन्ट २, कन्सास २ र साउथ डेकोटामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार दिउसो सम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ सय १६ जनाको मृत्यु भएको छ । केन्टकी राज्यका सिनेटर पाउल, अरु दुई राज्यका हाउस अफ रेप्रिजेन्टेटिभ, एक जना मेयर, थुप्रै प्रहरी अधिकृत, र केही संख्यामा हलिउडका कलाकार र खेलाडि समेत करिब ३३ हजार मानिस अमेरिकामा कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौ मानिहरुमा परिक्षण र अनुसन्धान जारी छ । कोरोना भाइरस संक्रमित संख्याको हिसाबले अमेरिका विश्वको तोस्रो मुलुक बन्न पुगेको छ ।
काम र अवसरको खोजीमा विश्वभर छरिएर रहेका नेपालीहरू पनि छिटपुट रुपमा कोरोनाबाट संक्रमित भएका खवर आउन थालेका छन् । संक्रमित संख्या धेरै नभएपनि हिँडडुल गर्न र बाहिर निस्कन नसक्ने परिस्थितिका बन्दै गएका कारण थुप्रै नेपालीहरूले यसको मार खेपिरहेका छन् । सङ्कटको यस घडिमा अप्ठ्यारोमा रहेका नेपालीहरूलाई सहयोग गर्न केही मनकारी नेपालीहरू अग्रसर भएका छन् । नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सासले त्यस क्षेत्रमा रहेका विद्यार्थी र समस्यामा परेका नेपालीहरूलाई आवश्यक परेमा दाल ,चामल नुन उपलब्ध गराउने जनाएको छ । सहयोग उपलब्ध गराउन त्यस क्षेत्रमा सक्रिय नेपाली अभियान्ताहरु केदार तिमिल्सिना, नारायाण अधिकारी, अमृत कटेल, नवीन वस्नेत, प्रविण घिमिरे, रामराज पोखरेल, विजयमान श्रेष्ठ, प्रेम पाठक, राजू लामा र हरी ढकाल लागिपरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-