दूरबिन संवाददाता
अमेरिका । २४ मार्च २०२० –
अमेरिकामा बसोवास गर्दै आएका नेपाली युवा अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणका कारण सोमबार राती निधन भएको छ । लिम्बू शुक्रवार न्यूयोर्कको एलमष्ट अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । सोमबार राती उपचारको क्रममा उनको मृत्यु भएको हो । पाँचथर जिल्लामा जन्मिएका लिम्बुले न्यूयोर्कमा विभिन्न व्यवसाय गर्नुका साथै पछिल्लो समय उवर लिफ्ट चलाउँदै आएका थिए । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

करिव ७० हजार नेपालीहरू बसोबास गर्ने न्यूयोर्कमा अरु चार जना नेपाली समेत कोरोना संक्रमित भएका छन् । जसमा तीन जना लिफ्ट र उबर चालकहरू रहेका छन् । उनीहरुको उपचार जारी छ । पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र भएका कारण संक्रमणबाट अहिलेसम्म जोगिरहेका अधिकांश नेपालीहरू पनि त्रसित अवस्थामा रहेका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६० जनाको ज्यान लिएको छ । कोरोना भाइरसका कारण ६ सय अमेरिकनले ज्यान गुमाइसकेका छन् भने ४६ हजार ५ सय संक्रमित भइसकेका छन् । यो रोग अमेरिकाका सवै राज्यमा तिव्र गतिमा फैलिरहेको भए पनि न्यूयोर्क अत्याधिक संक्रमित राज्य बन्न पुगेको छ । यो भाइरसका कारण न्युयोर्क राज्यमा बितेको २४ घण्टामा एक नेपाली सहित ६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाए । न्यूयोर्क राज्यमा नै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ८४ पुगिसकेको छ भने २३ हजार संक्रमित भएका छन् ।











प्रतिक्रिया लेख्नुहोस्:-