सान फ्रान्सिस्को, क्यालिफोर्निया । नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले बे एरियामा नेपाली क्रिकेट कप आयोजना गर्ने भएको छ।
नेपाली समुदायबीच खेलकुदमार्फत मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने तथा खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल ४ र ५ तथा अप्रिल ११ र १२ का सप्ताहान्तमा रिचमण्डस्थित फेयरमेड पार्कमा बिहान ८ बजेदेखि १२ बजेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
यसअघि युवाहरूले स्वतःस्फूर्त रूपमा विभिन्न समयमा प्रतियोगिता आयोजना गर्दै आएका भए पनि यस वर्षदेखि न्यान्सले संस्थागत रूपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। प्रतियोगितामा सहभागिताका लागि हालसम्म ६ वटा टोलीले आवेदन दिएका छन्। इभेन्ट संयोजक अभिषेक महर्जनले उक्त जानकारी दिएका हुन्।
सहभागी टोलीहरूबीचको खेल तालिका र समय चाँडै सार्वजनिक गरिने जनाइएको छ।
न्यान्सले आगामी दिनमा यस क्षेत्रमा नेपाली समुदायबीच लोकप्रिय रहेका खेलहरू—भलिबल र फुटबल—को पनि प्रतियोगिता आयोजना गर्ने योजना रहेको अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन्।
प्रतियोगिताको पहिलो दिन उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा सान फ्रान्सिस्कोस्थित नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको नेपाली कन्सोलेट कार्यालयका कन्सुल जनरलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रतियोगिता स्थलमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले सम्पूर्ण क्रिकेटप्रेमीहरूलाई उपस्थित भई खेलको आनन्द लिन आग्रह गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-