दूरबिन नेपाल, न्युयोर्क
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम शुरु भएको छ । विश्व अध्यात्म केन्द्रको आह्वान तथा अन्य विभिन्न देशका स्थानीय संस्था र व्यक्तिको संयोजकत्वमा यज्ञ गर्नका लागि अनलाईन बैठकबाट निर्णय लिइएको थियो । बैठकले विश्वभर रहेका सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धीका ज्ञाताहरु आ–आफ्नै घरमा बसी पाठ तथा जप गर्नका लागि अनुरोध पनि गरेको छ । अनलाईन बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो । सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्रशक्तिको माध्यमबाट विश्वभर एकै समयमा बिहान १० बजे जपयज्ञ प्रारम्भ हुने कुरा बताइएको छ । प्रातःस्नान, आचमन, ध्यान, योग तथा प्राणायाम आदि नित्यकर्म गरी समयअनुसार जपयज्ञमा सहभागी हुन सबैमा सूचना मार्फÞत आयोजकले अनुरोध गरेको छ । कार्यक्रम अप्रिल एक तारिखबाट शुरु भइसकेको छ । जस अनुसार अप्रिल १, २०२० बुधबार बिहान १० देखि ११ बजे सम्म स्थानीय समय अनुसार ‘देव्याःकवचम्’ तथा अन्य देवी मन्त्र । त्यसैगरि अप्रिल २ गते बिहीबार, बिहान १० देखि ११ बजे सम्म श्रीराम नवमीको पावन अवसरमा ‘राम’ नामसंकीर्तन तथा आचार्य तुलसीराम कँडेलद्वारा अनुवादित नेपाली रामचरितमानस ग्रन्थको पाठ गर्न आयोजकहरुले आह्वान गरेका छन् । हाल विश्वमा व्याप्त यो माहामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठक आरम्भ भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-