- दुरबिन नेपाल, न्युयोर्क
अमेरिकामा अप्रिल एक तारिख बुधबार कोरोना भाइरसबाट एक हजार मानिसको ज्यान गएको छ । कोरोना भाइरसबाट एकैदिन मृत्यु हुने यो सबैभन्दा धेरै संख्या भएको अमेरिकाका स्वास्थ्यविदहरुले बताएका छन । कुनै एक रोगबाट एकैदिन धेरै मानिस मारिएको पनि यो पहिलो पटक हो । अमेरिकामा फोक्सोको क्यान्सर र मौसमी फ्ल्युका कारणपनि धेरै मानिसहरुको ज्यान जाने गरेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको विवरण तत्कालै निकाल्न गाह्रो हुने भएपनि विश्व स्वास्थ्य संगठन, जोन हप्कीन्स विश्वविद्यालय, अमेरिकाको सिडीसी र चीनको नेशनल हेल्थ कमीसनको तथ्यांक अनुसार बुधबार अमेरिकामा एकै दिनमा एक हजार ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यसअघि अघिल्लो दिन मंगलबार अमेरिकामा एकै दिन सबैभन्दा धेरै पाँचसय चार जनाको ज्यान गएको बताइएको थियो । बुधबार मृतकको संख्या दुइगुणाले बढेको हो । केही अनुसन्भानकर्ताहरुले यो दर अझै उच्च हुने बताएका छन । उनीहरुका अनुसार अप्रिलका मध्यतीर दैनिक २२ सयको दरले मानिसहरुको मृत्यु हुनेछ । अमेरिकाको सिडीसीले पनि दैनिक मृत्यु दर एक हजार सात सय भन्दा धेरै हुन सक्ने अनुमान गरेको छ ।
अमेरिकामा फोक्सोको क्यान्सरका कारण पनि दैनिक चार सय ३३ मानिसहरुको मृत्यु हुने गरेको छ भने मौसमी फ्ल्युका कारण सन २०१८ मा दैनिक ५ सय ८ मानिसहरुको मृत्यु भएको थियो । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य तथा बरिष्ठ चिकित्सक एन्थोनी फुकीले कोरोना भाइरसको कहर अमेरिकाको फल सिजनसम्मै रहने अनुमान गरेका छन । ह्वाइट हाउसले नियमित गर्ने ब्रिफीङमा उनले सो अनुमान गरेका हुन । फुकोका अनुसार यदि बेलैमा भ्याक्सीनको विकास हुन सक्यो भने कोरोनाको असर कम हुन सक्ला नत्र यो सोचे भन्दा भयानक हुन सक्छ । अमेरिकाको युनिभर्सीटी अफ वसिङटन मोडलले गरेको एक प्रक्षेपण अनुसार कोरोनाका कारण अमेरिकाको दैनिक मृत्युदर २२ सय १४ हुन सक्छ भने समर सम्ममा ८४ हजार मानिसहरुको ज्यान जान सक्छ । स्मरण रहोस सन २०१८÷१९ मा मौसमी फ्ल्युका कारण ३४ हजार मानिसहरुको ज्यान गएको थियो ।
ह्वाइट हाउसले केही दिन अघि गरेको अनुमान अनुसार कोरोना भाइरसका कारण अमेरिकामा एक लाख देखि दुइ लाख ४० हजार मानिसहरुको ज्यान जान सक्छ ।
युएसए टुडेको विश्लेषणमा आधारित
कुनै परिणाम छैन
View All Result
प्रतिक्रिया लेख्नुहोस्:-