काठमाडौं । भक्तपुरको प्रसिद्ध पर्व बिस्का जात्रा आजबाट शुरू भएको छ। भक्तपुरको तःमारी (टौमढी)स्थित स्थानीयले सवा चार बजेदेखि रथ तान्न शुरू गरेका थिए। बिस्का जात्राको पहिलो दिन प्यागोडा शैलीमा काठैकाठले निर्माण गरिएको तीनतले भैरवनाथको रथ तान्ने परम्परा छ।
परम्परा अनुसार भैल खः तान्न भद्रकालीको रथलाई घट्खामा पठाई रथमा बिराजमान गरी पूजा सम्पन्न गरिन्छ। बिस्का जात्राको लागि स्थानीयले विशेष विधिबाट तयार गरेको रथमा तान्त्रिक विधिपूर्वकपूजा गर्दै भैरवनाथको मूल देवता र बेताल देवतालाई रथमा बिराजमान गराइन्छ। भैरवनाथ र बेताल देउताको खड्ग, तरवार, निशानलाई पनि रथमा राखिन्छ ।
त्यसपछि भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई राखिन्छ। त्यसपछि गः हिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तान्न शुरु गर्छन्।
भैरवनाथको रथ तानेर तल्लो भेग (क्वः ने) टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशं गोपाल, तेखापुखुसम्म पुर्याइन्छ भने माथिल्लो भेग (थःने) क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनः तौमढी पुर्याई जात्रा सम्पन्न गर्ने परम्परा छ।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत स्थानीयहरु हुन्छन्।
प्रतिक्रिया लेख्नुहोस्:-