काठमाडौं । नवौं तथा अन्तिम पटक जिब्रो छेडेका छन्। भक्तपुरको बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा बुद्धकृष्ण बाग श्रेष्ठले नवौँ पटक जिब्रो छेडेका हुन्।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत खानु हुँदैन। व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरिन्छ।
नगरपरिक्रमा बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ । परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना सङ्क्रमणका कारण बीचमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ। जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ।
प्रतिक्रिया लेख्नुहोस्:-