दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्क सीटीले अब कोरोना संक्रमितलाई होटलमा बस्न सक्ने व्यवस्था गर्ने भएको छ । न्युयोर्क सीटीका मेयर बिल डे ब्लाजिओले विहिवार जनाए अनुसार अर्को हप्ताको बुधबारबाट सो व्यवस्था गर्न लागिएको हो । ब्लाजिओका अनुसार होटलमा ११ हजार कोेठाको व्यवस्था गरिएको छ भने कोरोना भाइरसबाट अति प्रभावित समुदायका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । उनका अनुसार एउटै अपार्टमेन्टमा धेरै जना बस्ने तर छुट्टै आइसोलेसनमा बस्न नसक्नेहरुलाई प्राथमिकतामा राखिनेछ । आर्थिक अवस्था कम भएका र धेरै जनघनत्वमा बस्नेहरुबाट संक्रमणको खतरा धेरै भएकोले उनीहरुको अवस्था हेरेर होटलमा बस्न दिइने जनाइएको छ । कोरोना भाइरसका कारण धेरै प्रभावित क्षेत्र क्वीन्सको कोरोना तथा एलम्हस्र्ट क्षेत्रलाईपनि प्रथमितामा राखिएको मेयर ब्लाजिओले जानकारी दिएका छन । कस्ता व्यक्तिहरुलाई होटलमा राखिने भन्ने छनौट सीटी पव्लिक हस्पीटलका स्टाफ तथा स्वास्थ्य सेवा प्रदायकहरुले निर्धारण गर्नेछन । सित्तैमा दिइने होटलको कोठामा स्वास्थ्यकर्मी तथा होमलेसहरुलाई पनि राखिनेछ । विशेषगरी आर्थिक अवस्था कमजोर हुने तथा आप्रवासीहरुको आवादी धेरै भएको क्षेत्रमा कोरोना भाइरसको प्रभाव धेरै देखिएकोले यो व्यवस्था गर्न लागिएको न्युयोर्क सीटीको मेयर कार्यायले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-