काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनबारे सामाजिक सञ्जालमार्फत झुट्टा सूचना तथा आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन प्रशारण गरे कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगले आइतबार पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोगको ऐन २०७३ को दफा २३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ अनुसार कारबाही गरिने चेतावनी दिएको छ। आयोगको ऐनको दफा २३ मा आचारसंहिता कार्यान्वयन तथा अनुगमनको व्यवस्था छ।
आयोगले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिइने सोही दफाको उपदफा २ मा व्यवस्था छ।
त्यसरी आयोगले दिएको आदेशानुसार काम कारबाही नरोक्ने दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रूपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-